तराईमा ‘लू’ चल्दा पोलियो रोगविरुद्धको खोप अभियान प्रभावित

0
Shares

काठमाडौँ, २३ जेठ । सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले तराईका अधिकांश जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान प्रभावित भएको बताए।

‘तराई अधिकांश जिल्लामा ‘लू’ चलेको हुनाले विद्यालय बन्द भएका छन्। कतिपय विद्यालयमा खोप कार्यक्रम सञ्चालन भए पनि बीचमै रोकिएको छ’, उनले भने, ‘अब भने पानी पनि पर्न थालेको छ। तराईमा शितलता पनि बढेकाले अब विद्यालय खुलेपछि पुनः खोप अभियान संचालन गर्नेछौँ।’

उनका अनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप लगाइसकेका छन्। यो २८ दशमलव ५ प्रतिशत हो।

‘अहिलेको खोप लगाएको तथ्यांक ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ’, उनले भने, ‘खोप अभियान राम्रो चलेको छ । हामी लक्ष्य अनुसार नै खोपको कभरेज ९५ प्रतिशत पुर्‍याउँछौँ।’

खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ। यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ।

स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ।

खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको हो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *