आजबाट साढे १४ लाख बढी बालबालिकालाई पोलियो रोगबिरुद्धको आईपीभी खोप दिईंदै

काठमाडौँ, १३ जेठ । आज देखि आगामी २६ जेठसम्म देशभर पोलियो रोग विरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन हुँदैछ ।
यो अभियानमा विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकालाई आईपीभी खोप दिईंदै छ ।
विसं २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका बालबालिकाले आईपीभी खोप नपाएको सरकारको निस्कर्ष छ । त्यसबेला विश्वबजारमा नै यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोपबाट पाउनबाट बन्चित भएको बताईन्छ । खोपबाट बन्चित भएका ती बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै यसपटक तिनै छुटेका बालबालिकाहरुलाई खोप दिन लागिएको हो ।
त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेको सरोकारवालाहरु बताउँछन् ।
‘त्यसै काण कारण हामीले यी बीचमा छुटेका बालबालिकाहरुलाई खोप दिने अभियान सञ्चालन गर्न थालेका हौँ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने । उनले खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन ९गाभी०को ठूलो सहयोग रहेको बताए ।
विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले आईपीभी खोप सुरु गरिसकेपछि बीचमा यो खोपको अन्तराष्ट्रिय रुपमा अभाव भएको भन्दै बीचमा छुटेका बालबालिकाहरुलाई विद्यालय मै गएर र बाँकीलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा बोलाएर दिईने जानकारी दिए । उनले भने, ‘यो अभियान आजबाट सुरु भई दुई सातासम्म अर्थात २६ जेठसम्म सञ्चालन हुनेछ । र सो अवधीमा कतिपय स्थानीय तहले आफ्नो समय मिलाएर अभियान सञ्चालन गर्नेछन् ।’
डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकाहरुलाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आइपीभी लिईसकेको र पछि जन्मेर सो खोप लिईसकेकाहरुले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।
उनका अनुसार अभियानका लागि गत २५ अप्रिलमै ३ लाख २४ हजार ८०० भाइलमा रहेको १६ लाख २४ हजार डोज खोप नेपाल भित्रिएको थियो । त्यो खोप अहिले प्रदेश आपूर्ति केन्द्र हुँदै जिल्ला तथा पालिकामा मार्फत खोप केन्द्रसम्म पुगिसकेको अवस्था छ ।
‘सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ । हाम्रा स्वास्थ्यकर्मीहरुले लगाई राख्नु पनि भएको छ तर बीचमा छुटेको समूहलाई यसपटक समावेश गर्न खोजेका हौँ,’ डा। गौतमले भने ।
नेपालमा २०७१ साल देखि आईपीभी खोप सञ्चालन गरिएको हो । बीचको दुई वर्ष रोकिए पनि त्यसपछिको बर्षहरुमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ ।
अभियानका लागि ३४ हजरा ३५४ खोप केन्द्र तयार गरिएको छ । यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ ।
यसैबीच आजबाट सुरु हुँदै गरेको आईपीभी खोप अभियान सफल पार्न स्वास्थ्य मन्त्री प्रदीप यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता मिश्रा, विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले भिडियो सन्देश जारी गर्दै आव्हान गरेका छन् । उनीहरुले यो खोप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै ढुक्कले लगाउन र सम्भावित जोखिमबाट बच्न समेत आव्हान गरेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



