युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव

काठमाडौँ, ६ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भएपनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।
उपराष्ट्रपति यादवले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो’ उनले भने, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’
उनले रोगहरू बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए। ‘आरामदायी जीवनशैली, धुमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’
उनले न्यूरोसँग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए ।
उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ ले न्यूरोलोजीसँग सम्बन्धित रोगको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

