मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई अन्य अस्पतालमा काम नगर्न महानगरको आग्रह

188
Shares

काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गतका मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुलाई अन्य अस्पतालमा काम नगर्न आग्रह गरेको छ।

महानगरले एक सार्वजनिक सूचना जारी गर्दै शिक्षण संस्था, अस्पताल तथा आबद्ध कर्मचारीलाई स्वास्थ्य सेवा नियमित गर्न र कानुन अनुसार सञ्चालन गर्न आग्रह गरेको हो ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सर्तमा महानगरभित्र सञ्चालित शिक्षण संस्थामा आबद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु एवम् कर्मचारीहरु उपलब्ध नहुने गरेको, ड्युटी समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटीस्क्यान, एमआरआई स्क्यान जस्ता सेवाका लागि महिनौसम्म कुर्नुपर्ने जस्ता गुनासो आएकाले सार्वजनिक रुपमै अपिल गरिएको महानगरले जनाएको छ ।

राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता उल्लेखित छ । त्यस्तै आफूलाई खटाइएको शिक्षण संस्थामा मात्र काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि छ ।

कानुनको व्यवस्था पालना गर्न र गराउन सम्बद्ध व्यक्ति पदाधिकारी तथा संस्थालाई महानगरले आग्रह गरेको छ । सर्वसाधारणले सहज रुपमा सेवा नपाए वा कानुनी व्यवस्थाको उल्लघन भएको देखिएमा प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरले सूचनामा भनेको छ । ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *