म्याद गुज्रेको औषधि खुवाएको भन्दै राजनीतिक दलका कार्यकर्ताले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख माथि कालोमोसो दले (भिडियो)
बाग्लुङ, ७ माघ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीलाई कालोमोसो दलेको छ ।
आइतबार कार्यालय समयमा केसीमाथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङले कालोमोसो दलेको स्थानीय बडिगाड अनलाइनले खवर प्रकाशित गरेको छ ।
कालोमोसो दलिएपछि केसीमाथि क्रान्तिकारीले म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही गरेको बताएको छ । जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी पत्रमा भनिएको छ –‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो ।’
म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
जनतालाई धम्की दिने, दवाव दिने र सत्ता र शक्तिको दुरुपयोग गरेका कारण क्रान्तिकारी पार्टीले कारबाही गरेको जनाएको छ ।
केही समय अगाडी सोही अनलाइनले बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरनचक्की म्याद गुज्रेको विषयमा समाचार प्रकाशन भएको जनाएको छ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




