तीन महिनादेखि स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्

108
Shares

 

सोलुखुम्बु, १३ असार – सोलुखुम्बुको सोताङमा प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डक्टरविहीन हुँदा कोसीपारिका बिरामी उपचारबाट वञ्चित भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक डेनप्रसाद आचार्य थप अध्ययनका लागि काठमाडौँ गएको तीन महिना बित्दासमेत अर्को चिकित्सकको व्यवस्था नगर्दा स्वास्थ्य केन्द्रको सेवा पूर्णरुपमा प्रभावित भएको हो । अहिले उक्त स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलिरहेको छ ।

गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अन्यत्र जानुपर्ने कोसीपारिका बासिन्दाको बाध्यता छ । तर सोताङ बुङ, छेस्काम, गुदेल, वाकुलगायतका आठ गाविसका नागरिकको उपचारको केन्द्र रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अर्को चिकित्सकको व्यवस्था गर्न अझै चार महिना लाग्ने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्वास्थ्य कार्यालय फाप्लुका प्रमुख रोशनलाल चौधरीले दसैँसम्म नयाँ चिकित्सकको व्यवस्था गर्न नसकिने बताए। डा आचार्यको दरबन्दीमा अर्को चिकित्सक ल्याउन समय लाग्ने उनको भनाइ छ । तर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए ।

स्वास्थ्य मन्त्रालय र विभागसँग आज नै कुरा गर्ने बताउँदै प्रजिअ शर्माले तीन महिनासम्म सर्वसाधारणले सेवा नपाएको भन्दै अबको केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए ।

सदरमुकामबाट १२ कोष टाढा रहेको सोताङस्थित सो प्राथमिक स्वास्थ्य केन्द्र सदरमुकाम आउनकै लागि तीन दिन लाग्ने कोसीपारिका आधादर्जन गाविस वासीका लागि उपचार गर्ने एक मात्र स्वास्थ्य केन्द्र हो ।  – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *