अन्तरक्रिया कार्यक्रमको निस्कर्ष :

‘एचआईभी संक्रमितलाई नगरौँ भेदभाव, नलगाँउ लान्छना’

काठमाडौँ ६ असोज । नेपालमा अहिले पनि झण्डै एक तिहाई एचआईभी संक्रमित उपचारको पहुँचमा छैन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार अनुमान गरिएको करीब ३० हजार संक्रमित मध्ये २० हजार मात्रै उपचारको पहुँचमा छन् । बाँकी १० हजार कहाँ गए ? उत्तर सहज रुपमा दिन सकिने अवस्था छैन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा विहीबार स्वास्थ्य पत्रकार मञ्च नेपालले यसै सेरोफेरोमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । ‘एचआईभी, एड्स तथा यौनरोग सम्वन्धी लान्छना र भेदभाव’ विषयक अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संक्रामक रोगका बारेमा उहिले देखि चलिआएको भेदभाव तथा लान्छनालाई हटाउन नसकिएको बताए ।

मन्त्री खापुङले भने, ‘हाम्रा बाउ बाजेले उ बेलामा भन्ने गर्दथे, संक्रामक रोगमा परेका व्यक्तिहरुले समाजबाटै निकाल्ने कुराहरु, अहिले त्यो अवस्था त छैन् तर पुर्ण हटिसकेको पनि छैन् ।’

उनले एचआईभी संक्रमितहरुमाथि जवसम्म लान्छना र भेदभाव गरिन्छ तवसम्म हाम्रो लक्ष्य प्राप्तीमा सफल नहुँने भन्दै यसतर्फ सबैको ध्यान जानु पर्ने बताए ।


नेपाल सरकारले सन् २०३० सम्ममा एचआईभी न्युनिकरण गर्ने भनेर अन्तराष्ट्रिय प्रतिवद्धता गरिसकेको छ । भने एनएचएसपी राष्ट्रिय रणनीति (सन् २०२१–२०२६)ले ९५/९५/९५ पुरयाउने लिएको छ । त्यो भनेको ९५ प्रतिशत अनुमानित संख्याको खोजी गर्ने, तिनिहरुको उपचार गर्ने र भाइरल लोड परीक्षण गर्ने रहेको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद तथा लान्छना सबै समुदाय मिलेर हटाउन पर्ने बताए । उनले भने, ‘एक जना मात्र लागेर हुदैंन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’ उनले राष्ट्रिय एचआईभी रणनीतिक योजना अनुसार नै एचआईभीको रोकथाम र नियन्त्रणको काम भइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटाले एचआईभी एड्सको अवस्था, केन्द्रले गर्दै आएको काम, दातृ निकायले गरेको सहयोग, सन् २०३० सम्म हासिल गर्नु पर्ने लक्ष्यका बारेमा विस्तृत जानकारी दिईन् । सो क्रममा उनले लक्ष्य प्राप्तीको अभियानमा देखिएका विभिन्न चुनौतीहरुको बारेमा समेत उल्लेख गरिन ।

‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति ,सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा सकेका छैनन्,’ डा. देवकोटाले भनिन् ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएका छ ।’ तर उनले अब एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को पनि उपचार थालिएको बताईन ।

पछिल्लो तीनवर्षको बजेट आँकडा प्रस्तुत गर्दै एचआईभीमा बजेट घटेको बताईन् । उनले बजेट घटने क्रमले गर्दा एचआईभी एड्स नियन्त्रण कार्यक्रम पनि ‘नेक्लेक्टेड’ सूचीमा परेको हो कि भन्ने भान भएको बताईन ।

केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन् । जसमा महिला भन्दा पुरुष बढी छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन ५५ प्रतिशत रहेका छन् । भने महिला १३ हजार ६०० रहेका छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । जुन ४ प्रतिशत हो ।  हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेको निर्देशक डा. देवकोटाले जानकारी दिईन् । उनका अनुसार एचआईभीबाट मृत्यु ५१० जनाको भएको छ ।

त्यसैगरी, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या (जसलाई आमाबाट बच्चामा हुने संक्रमणको निवारण गर्ने सेवाको आवश्यकता छ) २०० जना रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ डा.देवकोटाले भनिन्, ‘एचआईभीको उच्च जोखिममा सुईको प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङगी र तेस्रो लिङगीमा बढी पर्दछन् ।’ सरकारले फर्मासिस्ट थप दरबन्दीको व्यवस्था र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिएको डा. देवकोटाले जानकारी दिइन् ।

उनले एचआईभी रोकथाम कार्यक्रहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखि समयमा नै सेवा पुर्याउँनुपर्ने र प्रदेश, स्थानीय स्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पुर्वाधार लजिस्टिक्स र आपुर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको बताईन ।

कार्यक्रममा एचआईभीमा काम गर्ने मुख्य साझेदार संस्थाहरु सेभ द चिल्ड्रेन, एफएचआई ३६० र एएचएफका प्रतिनिधिहरुले एचआईभी नियन्त्रणका लागि सरकारलाई गरेको सहयोग सम्वन्धी कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एफएचआई ३६० अन्तर्गतको इपीक नेपालका राजेश खनालले आफूहरुले एचआईभी कुन समुदायमा कति छन् भनेर खोज्नका लागि सहयोग गर्दै आईरहेको बताए । उनले भने, ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गदै आएको छ,’ खनाले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन् । भने ३८७ नगरपालिकामा यो संस्थाले सेवा दिदै आएका छ । उनका अनुसार पहिले एचआईभी एडस रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण हुन थालेको छ ।

सेव द चिल्ड्रन सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गदै आएको समेत जानकारी दिए । उनले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको बताए । वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर , पोखरा र सुनसरी जिल्ला गरी पाँच जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘सबैभन्दा बढी बैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभीका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं , राष्ट्रिय रणनिति अनुसार १२ वटा जिल्लाका १३ वटा कारागारमा एचआईभीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ वन्तल भने, ‘एचआईभीकालाई लाछ र विभेद न्युनिकरणका लागि केटालाईटिक फन्डिङका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं, जुन ५५ जिल्लामा सञ्चालन भईरहेको छ ।’

सेव.द. चिल्ड्रनले बैदेशिक रोजगारीमा भारत लगायत देश गएर आएका जिल्लामा नेपाल हेल्थ सोसाईटीबाट कार्यक्रम सञ्चालन गरिरहेको छ । सेव द चिल्ड्रनले भारतबाट आएकाहरुलाई एचआईभीसँगै क्षयरोगको पनि परीक्षण गर्ने गरिएको वन्तको भनाई छ ।

कार्यक्रममा ए.एच.एफका अजित पौडेलले एआरटी सेवामा आउँन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधी लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए । एआरटी सेवा लिन जानआउँन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भए पनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए । पौडेले भने, ‘जोखिम न्युनिकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गईरहेका छौं ।’
कार्यक्रममा स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौलाले एचआईभी संक्रमित प्रति हुँदै आएको विभेद तथा लान्छना हटाउनु पर्नेमा जोड दिईन् । उनले त्यसका लागि सञ्चारमाध्यमको जिम्मेवारी महत्वपूर्ण हुने बताईन् ।

 

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले आम जनमानसमा एचआईभी एड्स तथा यौनबाट संक्रमितहरुमाथि समाजमा अझ पनि भेदभाव र लान्छना लगाउने कार्य जारी रहेको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवाला पक्षसंग मिलेर छलफल चलाएको बताए । उनले भेदभाव तथा लान्छनाकै कारण अहिले पनि करीब एक तिहाई संक्रमितहरु उपचारको पहुँच बाहिर रहेको बताउँदै सञ्चारमाध्यम ती भेदभाव र लान्छना कम गर्न सञ्चारमाध्यम सहयोगी बन्न सक्ने बताए ।

नेपालमा कुल एचआइभी सङ्क्रमित ३० हजार रहेका छन्। तीमध्ये १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला तथा जन्मदेखि १४ वर्ष उमेरसमूहका बालबालिका एक हजार दुई सय रहेका छन्। डा। देवकोटाका अनुसार नेपालमा वार्षिक ६८० जना नयाँ एचआइभीका सङ्क्रमित र एड्सबाट वार्षिक ५१० जनाको मृत्यु हुने गरेको छ।

सरकारले एचआइभी रोकथाम र उपचारका लागि एचआईभी परामर्श र परीक्षण सेवाकेन्द्र ७७ जिल्लामा १८९ वटा, एचआईभी उपचार केन्द्र ६१ जिल्लामा ८४ वटा, एआरभी विरतण केन्द्र ४५ जिल्लामा ४५ केन्द्र र ओपीओइड प्रतिस्थापन केन्द्र १० जिल्लामा १२ वटा स्थापना गरेको छ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *