परिवार योजनामा लगानी बढाइने

600
Shares


काठमाडौँ, १ असोज । नेपाल सरकारले परिवार योजनाका कार्यक्रममा लगानी वृद्धि गरेको तथा सरकारका कार्यक्रमले परिवार नियोजनका साधनमा पहुँच वृद्धि गरेको जनाउँदै अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घले सरकारलाई सम्मान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत आवमा रु ५८ करोड बजेट परिवार योजनाका कार्यक्रममा विनियोजन गरेको थियो । चालू आवमा यो रमकमा केही वृद्धि भएको जनाइएको छ । महासङ्घले तयार गरेका सूचकमध्ये सूचक पूरा गर्ने विश्वका ७९ देशमध्ये नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । महासङ्घको एक अध्ययनअनुसार परिवार योजनामा रु एकको लगानीले रु तीन बराबरको प्रतिफल निस्कने जनाइएको छ ।

छैठौँ परिवार योजना दिवसका अवसरमा परिवार कल्याण महाशाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले महासङ्घद्वारा प्राप्त प्रमाणपत्र महाशाखाका निर्देशक चिकित्सक भीमसिंह तिङ्करी, पूर्वनिर्देशक चिकित्सक नरेशप्रताप केसी र मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख चिकित्सक विकास देवकोटालाई प्रदान गरे ।

यस वर्षको नारा ‘किशोर किशोरीको सहभागिता ः परिवार योजनाको सुनिश्चितता’ भन्ने रहेको थियो । महाशाखाका अनुसार १५ देखि १९ वर्ष समूहका विवाहिता किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गरेका पाइन्छ । ती समूहका किशोरीमध्ये १७ प्रतिशत किशोरी असमयमै आमा बन्न बाध्य भइराखेका छन् ।

कलिलै उमेरमा आमा बन्न पुग्दा त्यस्ता किशोरीका यौन तथा प्रजनन स्वास्थ्य जोखिममा पर्नेसमेत परिरहेको छ । कार्यक्रममा राज्यमन्त्री डा यादवले आधुनिक परिवार नियोजनका साधनमा किशोरकिशोरी तथा ग्रामीण महिलाको पहुँचमा पु¥याउन सरकारले प्राथमिकता दिएको चर्चा गर्दै अगामी दिनमा थप लगानीसमेत गर्ने जानकारी दिए ।

मन्त्रालयका सचिव खगराज बरालले परिवार योजनाका महत्वका बारेमा किशोर किशोरीलाई चेतना र सेवाको पहुँच एकसाथ लान आवश्यक रहेकामा जोड दिए । बेलायत अन्तरराष्ट्रिय विकास सहयोग नियोगका स्वास्थ्य कार्यक्रम संयोजक चिकित्सक दीपक कार्कीले परिवार योजनाका कार्यक्रमलाई समुदायस्तरसम्म पु¥याई परिवार नियोजनको सेवामा सबैको पहुँच सुनिश्चित गर्नुपर्छ भने ।

सो अवसरमा महाशाखाका प्रमुख चिकित्सक तिङ्करी, परिवार योजन तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख कविता अर्यालले किशोर किशोरीलाई परिवार योजनाका बारेमा जानकारी दिने लक्षित कार्यक्रम र परिवार नियोजनको सेवाको पहुँच विस्तारमा नीति तथा कार्यक्रम केन्द्रित रहेको जानकारी दिए ।

अझै पनि नेपालमा किशोर किशोरीको प्रजनन दर उच्च रहेको छ । महाशाखाका अनुसार यो सङ्ख्या एक हजारमा ८८ रहेको छ । यो सङ्ख्यामा सुधार हुनु अति आवश्यक मानिन्छ । विगत ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोग दर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशत माथि उक्लिन सकेको छैन ।

परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत माथि रहेको छ । परम्परागत विधिको प्रयोग ९.८ प्रतिशत, कूल प्रजनन दर २.३ र अपरिपूर्त माग २३.७ रहेको छ । यी सूचक करीब १२ वर्षभन्दा लामो समयदेखि स्थिर रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *