बाढी प्रभावित क्षेत्रमा नर्भिकको निशुल्क स्वास्थ्य शिविर
काठमाडौँ, ६ साउन । तराईका बाढी प्रभावित जनताको स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नर्भिकको टोलीले आइतबार र सोमबार (दुई दिन) महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नं ६ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सो क्षेत्र गत असारको अन्तिम साता आएको बाढीबाट नराम्ररी प्रभावित थियो । टोलीको नेतृत्व गरेर महोत्तरी पुगेका कन्सलट्यान्ट फिजिसियन डा बरुण साहले हिजो र आज गरी १ हजार बढीको स्वास्थ्य परीक्षण गरेको बताए । उनले आवश्यक पर्नेहरुलाई निशुल्क औषधि समेत वितरण गरेको जानकारी दिए ।
स्थानीय स्वास्थ्य केन्द्र परिसरमा राखिएको सो शिविरका लागि डा साहको नेतृत्वमा डा नवीन झा, डा रुपक घिमिरे सहित ६ जनाको टोली पुगेको थियो । शिविरमा स्थानीय बासिन्दाले समन्वय गरेका थिए ।
कन्सलट्यान्ट डाक्टर साहले शिविरमा आउनेहरुमा ज्वरो, इन्फेक्सन, झाडापखला लगायतका समस्या बढी देखा परेको बताए । ‘बस्ती नै पुरा डुवानमा परेकाले पनि धेरैलाई इन्फेक्सन भएको हो । त्यसबाहेक सरसफाईको पनि समस्या छ । यसले पनि महामारी फैलनसक्ने देखियो । त्यसले हामीले सफा बाताबरण बनाउन र पानी खाँदा विशेष ध्यान पुरयाउन समेत शिविरका आएकाहरुलाई सचेत गराएका छौँ,’ उनले भने ।
नर्भिकले भने बाढी पिडीतको घाउमा मलम लगाउने आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो टीम महोत्तरी पुगेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]