नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य : ‘कानून उत्कृष्ठ, कार्यान्वयन फितलो’

428
Shares

काठमाडौँ, १७ असार । सरोकारवालाले नेपालमा अझै पनि सबै महिलामा परिवार नियोजनको पहुँच पुगिनसकेको बताएका छन् । उनीहरूले १० लाख बढी महिला इच्छा भएर पनि परिवार नियोजनको पहुँचबाट बाहिर रहेको बताएका हुन्।

जनसंख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी)को २५ वर्ष पुगेको अवसरमा मंगलबार मिडिया एक्सन नेपालले गरेको प्रजनन स्वास्थ्यसम्बन्धी कार्यशाला गोष्ठीमा कानून उत्कृष्ठ भएपनि कार्यान्वयन फितलो भएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा यूएनएफपीए नेपालकी प्रमुख लुब्ना बाकीले आईसीपीडीले जनसंख्या वृद्धि र प्रजनन स्वास्थ्यमा रोकथाम उपायमा महत्त्वपूर्ण परिवर्तन ल्याएको दाबी गरिन्। ‘यसले शिशु मृत्युदर कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।’ उनले भनिन् ।

कार्यक्रममा अधिवक्ता सोनाली रेग्मीले नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको ग्यारेन्टी कागजमा मात्र सीमित भएको बताइन्। ‘नेपालमा प्रजनन स्वास्थ्यसम्बन्धी थुप्रै समस्या छन् । अहिले पनि धेरै महिला अनावश्यक रूपमा गर्भपतनको पीडा भोग्न बाध्य छन्। त्यसका लागि मिडियाको रोल महत्वपूर्ण हुन्छ,’ उनले भनिन् ।

प्राध्यापक रामकृष्ण रेग्मीले प्रजनन स्वास्थ्यको मुद्दा कोठे बैठकमा सीमित रहेको भन्दै मिडियाहरुमा पनि यी सवालहरु अपेक्षाकृत कम देखिएको बताए । उनले यो मुद्धालाई मिडियाले निरन्तर रुपमा उठाउनुपर्ने जरुरी रहेको बताए ।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले नेपालमा मिडियाको समाचार लेखन शैली २० वर्ष अघिकै जस्तो रहेको दाबी गरे। उनले भने, ‘हामीले लैंगिक हिंसा मुद्दाको अवधारणालाई परिवर्तन गर्यौँ। तर हामी अझै पनि समाचारहरूको केन्द्रको रूपमा पीडितहरू राखिरहेका छौँ’, उनले भने, ‘अब मिडियाले अपराधीहरूलाई केन्द्रित गर्नु पर्छ।’

कार्यक्रममा यूएनएफपीएका बिजय थापा र लतिका मास्के प्रधानले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आफ्ना प्रस्तुति राखेका थिए ।

यूएनएफपीएको साझेदारीमा आयोजित कार्यक्रममा पत्रकार, अधिवक्ता, स्वास्थ्य अधिकारकर्मी सहभागी थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *