नेशनल बाथरोग सेन्टर छैटौँ बर्षमा प्रवेश
काठमाडौँ, २२ जेठ । नेशनल बाथरोग सेन्टर छैटौँ बर्षमा प्रवेश गरेको छ । विसं २०६९ सालमा रातोपुलमा स्थापना भएको यो सेन्टरले अहिले भक्तपुरको टोखापुखु, ललितपुरको जाउलाखेल, पोखरा र झापामा आफ्नो शाखा विस्तार गरेको छ ।
संस्थाका अध्यक्ष डा विनित वैैद्यका अनुसार ६ बर्षको अवधीमा रातोपुल सहितका ५ वटा सेन्टरबाट ८२ हजार ७७४ जनाले उपचार सेवा लिएका छन् । तर यो संख्या अनुमानित बिरामीको संख्यामा अत्यन्तै कम भएको उनले जानकारी दिए ।
‘नेपालमा बाथरोगका बिरामी करीब ३० लाख भएको अनुमान छ । तर हाम्रा पाँच ठाँउमा रहेका सेन्टरमै उपचार गर्न आउने र हामीले गरेका निशुल्क स्वास्थ्य शिविरबाट उपचार गराउनेको संख्या हेर्ने हो भने साढे ८२ हजार अर्थात २.५ प्रतिशत भन्दा केही मात्रै हो,’ डा वैद्यले भने । उनले बाथरोगको सुरुमै पहिचान भयो भने उपचार सहज हुने भन्दै त्यसका लागि स्थानीय तहमा छरिएका स्वास्थ्यका जनशक्तिलाई तालिम दिइनुपर्ने बताए । उनले त्यस दिशामा बाथरोग सेन्टरले अभियान नै शुरु गर्ने जानकारी दिए ।
संस्थाका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बाथरोगको उपचार सेवालाई शहर केन्द्रीत मात्रै नगरी दुर्गम तथा स्थानीय तहमा पु¥याउने अभियान शुरु गरेको भन्दै त्यसका लागि तालिम योजना, वेव वेस क्लिनिक सञ्चालनमा ल्याउने बताए । उनले आगामी दिनमा वेवबेस तालिम गराउने र कम्युनिटी बेस रिसर्च र टेलिमेडिसिन सेवालाई निरन्तरता, गरीब तथा पिछडिएका वर्गलाई निशुल्क उपचार दिने योजना रहेको समेत सुनाए ।
कार्यक्रममा प्रमुख अतिथि बनेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बाथरोगको उपचारको क्षेत्रमा सेन्टरको भूमिका प्रसंशायोग्य भएको बताए । उनले बाथरोगको उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र समयमै रोग पत्ता योजनामा सरकारको साथ रहने बताए ।
एक फरक प्रसंगमा शिक्षामन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा विधेयक प्रमाणिकरण भएर आउँदा केही त्रुटि रहेको पाइएको बताए ।
सोही अवसरमा मन्त्री पोखरेलले नेपाल जेष्ठ प्राध्यापक समाज तथा बद्रीतिर्थ आर्थराइटिस समाजले हरेक बर्ष प्रदान गर्ने तिर्थानन्द बैद्य मेमोरियल लाईफटाइम एचिभमेन्ट अवार्डबाट प्राडा बीरेन्द्रप्रसाद मिश्रलाई सम्मान गरेका थिए ।
यता बार्षिक उत्सवकै अवसर पारी केन्द्रले उत्कृष्ठ कार्यसम्पादन गर्ने आफ्ना ६ जना कर्मचारीलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेहरुमा अञ्जना गुरुङ, रोजी गुरुङ, सुप्रिया, रबी प्रजापति, रिस्ता वारिया रहेका छन् । उनीहरुलाई सेन्टरका अध्यक्ष डा वैद्यले सम्मान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]