‘सरकार निजी अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्छ’ : स्वास्थ्य राज्यमन्त्री यादव

काठमाडौँ, १५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले निजी अस्पतालसँग सरकार सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
कलङ्कीमा सञ्चालित नेपाल नेशनल अस्पतालको ‘दोस्रो वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले निजी अस्पताललाई नाफामुखीभन्दा सेवामुखी बनाउनुपर्ने बताए। “मापदण्डअनुसार अस्पताल सञ्चालन गर्नुहोस्, सरकार तपाईंहरुलाई सहयोग गर्न तयार छ”, उनले भने ।
राज्यमन्त्री डा यादवले जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए । देशभर २५ हजार बिरामीको श्यया क्षमता भए पनि निजी क्षेत्रको मात्र १७ हजार रहेको भन्दै जनतालाई राम्रो सेवा प्रदान गर्न आग्रह गरे ।
प्रतिनिधिसभाका सांसद रवीन कोइरालाले संविधानले नै नागरिकको स्वास्थ्य पाउने अधिकारलाई ग्यारेन्टी गरेको बताउँदै हरेक जनताको पहुँचमा स्वास्थ्य क्षेत्र पु¥याउन सरकार लाग्नुपर्ने बताए । “स्वास्थ्य क्षेत्र पु¥याउन आवश्यक नीति नियमलाई सरकारले चाँडो समाधान गर्नुपर्छ,” उनले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले कर्णाली विज्ञान प्रतिष्ठानले चाँडै नै एमबिबिएस तहको शिक्षा प्रदान गर्न लागेको बताए । उनले नेपाल नेशनल अस्पताललाई सबै अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्न सुझावसमेत दिए ।
राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद यादवले सरकारी अस्पतालले दिन नसक्ने सेवा निजी अस्पतालले प्रदान गरेको भन्दै निजी अस्पताललाई सरकारले साथ लिएर अगाडि बढ्नुपर्ने बताए ।
अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले आगामी दिनमा अस्पतालमा सुविधा सम्पन्न आकस्मिक सेवा निर्माण गरेर अगाडि बढ्न अस्पताल लागेको बताउनुभयो । विसं २०७४ जेठ १५ मा स्थापना भएको अस्पतालमा अन्तरङ्ग, बहिरङ्ग सेवा, डाइलासिस सेवा, बालरोग उपचारलगायतका सेवा प्रदान गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रकाश पौडेलले जानकारी दिए । रासस
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

