७० बर्ष माथिका जेष्ठ नागरिकको प्रिमियम सरकारले तिरिदिने !
काठमाडौँ, ३० पुस । सम्भवत अब ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य वीमा निशुल्क हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रिपरिषदमा पेश गरेको स्वास्थ्य वीमा नियमावलीमा सो प्रस्ताव गरिएको छ । ऐन आएको समय भईसक्दा समेत नियमावली बन्न सकेको थिएन ।
‘हिजो पेश गरिएको स्वास्थ्य वीमा नियमावलीको मस्यौदाको एउटा बुँदामा ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य बीमाको प्रिमियम राज्यले तिरिदिने व्यवस्था गर्ने भनिएको छ,’ स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले भने, ‘मन्त्रिपरिषदबाट निर्णय भएपछि यसको कार्यान्वनय शुरु हुन्छ ।’
त्यस्तै निमामावलीमा वीमांक रकम १ लाख पुरयाउने प्रस्ताव गरिएको छ । अहिले वीमा गर्नेले ५० हजारसम्मको मात्रै उपचार सुविधा पाउँछन् । तर १ लाख सम्मको सुविधा दिन प्रिमियमको चालु व्यवस्थामा एक हजार रकम बढी प्रस्ताव गरिएको छ ।
अहिले प्रतिपरिवार २ हजार ५ सय प्रिमियम तिर्दा परिवारका सदस्यहरुले प्रति व्यक्ति ५० हजारसम्मको उपचार सुविधा पाउने गर्दछन् । अब १ लाख रुपैयाँको उपचार सुविधा लिनको लागि बार्षिक ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्य वीमा कार्यक्रम सञ्चालन गरेको थियो । अहिलेसम्म यो कार्यक्रम देशका ३६ जिल्लामा लागू भइसकेको छ । यस अर्थिक बर्षमा थप ११ जिल्लामा विस्तार गर्ने सरकारको योजना छ ।
स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ९ लाख लाख ३२ हजार नागरिक समेटिएका छन्, जसमा अतिविपन्न वर्गमा पर्ने नागरिकको संख्या एक लाख ३२ हजार रहेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



