सुत्केरी महिलालाई दुई लिटर तोरीको तेल उपहार

220
Shares

काभ्रेपलाञ्चोक, ११ पुस । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ ।

मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिए । उनले भने, “शुद्ध तोरीको तेल मालिसले शिशु स्वस्थ रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हौँ ।”

वडाअध्यक्ष घ्यावाले धाँमी झाक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको र चाँडै नै बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । “स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ,” उनले भने ।

पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालन अनुमति मागेको जिल्ला स्वास्थ्य समन्वय एकाइ प्रमुख नन्दराज अवस्थीले जानकारी दिए । उनका अनुसार जिल्लामा ३५ स्थानमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *