चिकित्सा शिक्षा तर्फ स्नातकत तहको एकीकृत प्रवेश परीक्षा आगामी १४ देखि १८ कात्तिक सम्म हुने

काठमाडौं, ९ कात्तिक । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको तालिकाअनुसार प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछन् ।
तालिकाअनुसार पहिलो दिन कात्तिक १४ गते चिकित्साशास्त्र स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षा हुनेछ । त्यसैगरी, कात्तिक १५ गते दन्त चिकित्सा (बीडीएस) को परीक्षा सञ्चालन हुनेछ ।
यस्तै कात्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी र बी परफ्युजन टेक्नोलोजीका प्रवेश परीक्षा हुनेछन् ।
यसैगरी, कात्तिक १७ गते बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, अप्टोमेट्री र बीपीटी कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।
कात्तिक १८ गते जनस्वास्थ्य (बीपीएच) कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।
आयोगका अनुसार सबै कार्यक्रमका प्रवेश परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।
९ हजार ६ सय ९१ सिटमा भर्नाका लागि ७७ हजार बढीको आवेदन
चिकित्सा शिक्षा आयोगले आगामी शनिबारबाट लिन लागेको एकीकृत प्रवेश परीक्षाका लागि ७७ हजार ३ सय ५९ विद्यार्थीले आवेदन दिएका छन् । तर सिट संख्या भने विभिन्न विषयको मिलाउँदा कुल ९ हजार ६ सय ९१ रहेको छ । गत वर्षको तुलनामा यो वर्ष ४ सय १८ सिट बढी हो । थपिएको सिटमध्ये एमबीबीएस तर्फ शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा ३० ३० सिट बढाइएको छ ।
एकीकृत प्रवेश परीक्षा तालिका भन्दा एक महिना ढिलो
आयोगले शैक्षिक क्यालेन्डरमा तोकिएको समयभन्दा करिब एक महिना ढिलो प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो । क्यालेन्डरमा असोजको तेस्रो साता प्रवेश परीक्षा गर्ने उल्लेख छ । परीक्षा ढिलो हुँदा भर्ना र पठनपाठन सुरु हुने समयसमेत प्रभावित हुने देखिएको छ । सरकारले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा चिकित्सा शिक्षाको भर्ना प्रक्रिया प्रभावित भएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




