थाहा पाउनु भयो ? स्वास्थ्य मन्त्री निशा मेहता को हुन् ?

काठमाडौँ, ३१ साउन । स्वास्थ्य मन्त्री निशा मेहताले पद सम्हालेपछि अहिलेसम्म जम्मा जम्मी एक पटक मात्रै सञ्चारकर्मीहरुसंग अन्तरक्रियामा सहभागी भएकी छन् । मन्त्री भएको अढाई महिना पुग्न आँटदा गरेको त्यो एक अन्तरक्रियामा पनि उनले खास बोलिनन् सुनिन् मात्रै ।
उनले त्यसबेला हरेक १५ दिनमा पत्रकार अन्तरक्रिया गर्छु भन्दै प्रतिवद्धता त जनाएकी थिईन तर त्यसपछिको झण्डै दुई महिना वितिसक्यो अन्तरक्रिया गर्ने दिन निस्किएको छैन । भेटघाट र अन्तरक्रिया नहुँदा उनको बारेमा खास जानकारी हुने कुरा पनि भएन । उनको योग्यता अनुभव के हो भन्ने विषयमा पनि खासै जानकारी थिएन । तर यसपटक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालयले ढिलै भए पनि मन्त्रीको जीवनी वेवसाइटमा राखेर प्रारम्भिक सूचना दिने प्रयास गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले वेवसाइटमा जिवनी नराखी लुकाई रहेका बेला मन्त्री मेहताले सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिनु पर्दछ । किनभने हाम्रा छिमेकी सहित विश्वका धेरै देशहरुमा विभागीय मन्त्रीको परिचय तथा जीवनी सहितको विवरण राखिएको हुन्छ ।
नेपालमा पनि जेनजी मुभमेन्ट पछि भएको निर्वाचनबाट आएका नयाँ पुस्ताका मन्त्रीहरुले त्यो रिक्ततालाई बदल्लै आफ्नो परिचय उल्लेख गर्ने अपेक्षा गरिएको थियो ।
बिराट मेडिकल कलेजमा नर्सिङ विषयमा प्राध्यापन गर्ने भनेर मात्रै चिनिएकी स्वास्थ्य मन्त्री मेहता खासमा को हुन् त ?
मन्त्रालयको वेवसाइटमा उनको जिवनी यसरी प्रस्तुत गरिएको रहेछ :
माननीय निशा मेहता २७ मार्च २०२६ देखि नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीका रूपमा कार्यरत हुनुहुन्छ। स्वास्थ्य क्षेत्रको शिक्षा, सेवा, अनुसन्धान तथा प्रशासनमा लामो अनुभव हासिल गर्नुभएका उहाँ नर्सिङ पेशामार्फत जनस्वास्थ्य प्रवर्द्धनमा समर्पित व्यक्तित्व हुनुहुन्छ।
उहाँले भारतको जिवाजी विश्वविद्यालय, ग्वालियरबाट नर्सिङ विषयमा स्नातकोत्तर तथा AIIMS, नयाँ दिल्लीबाट नर्सिङ विषयमा स्नातक उपाधि हासिल गर्नुभएको छ।
मन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि उहाँले विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा प्राध्यापक (लेक्चरर) तथा क्लिनिकल नर्सिङ प्रशिक्षकका रूपमा अध्यापन एवं प्रशिक्षणको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
साथै, कोशी प्रदेश नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, धरानको स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा समेत सक्रिय योगदान पुर्याउनुभएको छ ।
नर्सिङ तथा जनस्वास्थ्यका क्षेत्रमा उहाँको शैक्षिक र अनुसन्धानात्मक योगदान उल्लेखनीय रहेको छ । ईसं ७ अगस्ट १९८७ मा जन्मिनुभएकी माननीय मेहता नेपाली, अङ्ग्रेजी, मैथिली तथा हिन्दी भाषामा दक्ष हुनुहुन्छ।
नर्सिङ शिक्षा, क्लिनिकल अभ्यास, अनुसन्धान र सार्वजनिक सेवामा हासिल गरेका अनुभवका आधारमा उहाँ गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य प्रणालीको सुदृढीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनप्रति प्रतिवद्ध रही नेतृत्व प्रदान गर्दै आउनुभएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




