विदेश:

भारतमा फस्टाउँदै मेडिकल टुरिजम : नेपालीसहित लाखौँ विदेशी बिरामी, अर्बौं डलर आम्दानी

मेडिकल टुरिजममा नेपालले कहिले सिक्ने ?
8
Shares

एजेन्सी । भारत पछिल्ला वर्षहरूमा विश्वकै प्रमुख ‘मेडिकल टुरिजम हब’ का रूपमा उदाउँदै गएको छ।

कम खर्चमा गुणस्तरीय उपचार, आधुनिक प्रविधि, अनुभवी चिकित्सक र सहज पहुँचका कारण नेपालसहित दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिकी देशका लाखौँ बिरामी उपचारका लागि भारत पुग्ने गरेका छन्।

भारत सरकार तथा विभिन्न टुरिजम उद्योग सम्बन्धी तथ्यांकअनुसार सन् २०२४ मा मात्रै करिब ६ लाख ४४ हजारभन्दा बढी विदेशी बिरामी औपचारिक रूपमा उपचारका लागि भारत पुगेका थिए। सन् २०२० मा यो संख्या करिब १ लाख ८२ हजार मात्रै थियो। कोभिड महामारीपछि मेडिकल टुरिजम क्षेत्रमा तीव्र वृद्धि देखिएको विश्लेषण गरिएको छ।

अझ स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतमा उपचारका लागि आउने बास्तविक संख्या कैयौँ धेरै हुने अनुमान गरेका छन् । विशेषगरी नेपाल र भुटानजस्ता खुला वा सहज सीमा भएका मुलुकबाट धेरै बिरामी मेडिकल भिसाबिना नै भारत पुग्ने भएकाले सरकारी तथ्यांकमा सबै नसमेटिएको उनीहरुको भनाई छ ।

केही उद्योग विश्लेषणले भारतमा उपचारका लागि पुग्ने विदेशी बिरामीको वास्तविक संख्या वार्षिक २० लाखदेखि ३० लाखसम्म हुन सक्ने अनुमान गरेका छन्।

विदेशी बिरामीबाट भारतले अर्बौं डलर आम्दानी गरिरहेको छ। विभिन्न उद्योग प्रतिवेदनअनुसार भारतको मेडिकल टुरिजम बजार सन् २०२४ मा करिब ७।६९ अर्ब अमेरिकी डलर बराबर पुगेको थियो भने सन् २०२५ मा यो बजार ९ अर्ब डलर नाघ्ने अनुमान गरिएको छ। भारत सरकारले ‘Heal in India’ अभियानमार्फत यस क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ।

हाल भारतले १७१ देशका नागरिकलाई ई–मेडिकल भिसा सुविधा उपलब्ध गराएको छ।

मेडिकल भिसा प्रणाली सहज बनाइएपछि मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाबाट बिरामी आगमन बढेको भारतीय अधिकारीहरूको भनाइ छ।

नेपाल, बंगलादेश, भुटान, इराक, ओमान, सोमालिया, केन्या, नाइजेरिया, उज्वेकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाट भारतमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन्। नेपालबाट विशेषगरी मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, न्यूरोसर्जरी, बालरोग तथा जटिल शल्यक्रियाका बिरामी भारत जाने गरेका छन्। भुटानका धेरै बिरामी पनि दिल्ली, चेन्नई, कोलकाता र हैदरावादका अस्पतालमा उपचार गराउने गर्छन्।

विदेशी बिरामी विशेषगरी मुटुरोग, क्यान्सर, अंग प्रत्यारोपण, न्यूरोसर्जरी, अर्थोपेडिक, बोन म्यारो ट्रान्सप्लान्ट, कलेजो तथा मिर्गौला उपचारका लागि भारत पुग्ने गरेका छन्।

कुन कुन अस्पतालमा विदेशी बिरामी बढी ?

विदेशी बिरामी आकर्षित गर्ने भारतका प्रमुख अस्पतालहरूमा अपोलो अस्पताल, मेदान्ता द मेडिसीटी,फोर्टिक्स हेल्थकेयर, नारायणा हेल्थ, बीएलके म्याक्स सुपरस्पेस्यालिटी, एमआईओटी इन्टरनेशनल लगायत रहेका छन् । यी अस्पतालहरूले नेपाली भाषा बोल्ने कर्मचारी, एयरपोर्ट पिकअप, मेडिकल भिसा सहायता तथा अन्तर्राष्ट्रिय बिरामी समन्वय सेवा समेत सञ्चालन गर्दै आएका छन्।

जानकारहरुका अनुसार नेपाल लगायत दक्षिण एसियाली मुलुकमा जटिल उपचार सेवा राम्ररी हुन नसक्दा भारतप्रतिको निर्भरता अझै उच्च रहेको छ। साथै भारतले सरकारी नीति, निजी लगानी र अन्तर्राष्ट्रिय स्वास्थ्य बजार विस्तारलाई प्राथमिकता दिएकाले आगामी वर्षहरूमा मेडिकल टुरिजम अझ तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

मेडिकल टुरिजममा नेपालले कहिले सिक्ने ?

धेरै लामो समय पछि नेपालमा स्थिर सरकार आएको छ । अहिले नीति तथा कार्यक्रमको अन्तिम रुप दिन व्यस्त सरकारले केही दिनमै बार्षिक बजेट सार्वजनिक गर्दैछ । मेडिकल व्यवसायी तथा अस्पताल सञ्चालकहरुले नेपाललाई मेडिकल हब बनाउन सकिने भन्दै आएको धेरै भईसकेको छ । तर यसकै लागि भनेर निश्चित कार्यविधि वा कानून नभएका कारण मेडिकल टुरिजम नारामै सिमित भएको छ ।

उपचारका लागि आउने विदेशीका लागि मेडिकल भिसा तथा अन्य सुविधा र सहुलियत दिने तर्फ अबको सरकारले सोच्यो र अघि बढ्यो भने असम्भव पनि छैन । त्यसो त अहिले नै पनि आँखा उपचारका लागि भारत, बंगालदेश, भुटान लगायतका छिमेकी मुलुकका नागरिक ठूलो संख्यामा उपचारका लागि नेपाल आउने गरेका छन् ।

पछिल्ला वर्षहरमा भारतबाट मिर्गौला प्रत्यारोपणका लागि नेपाल आएको समेत उदाहरण छ । न्युन शुल्कमा नेपालले विश्वसनीय उपचार सेवा दिन सक्यो र राज्यले उपचारका लागि विदेशीलाई सहज रुपमा नेपाल आउन सक्ने नीति बनाई कार्यान्वनयमा ल्यायो भने केही वर्षमै नेपालले अर्बौै डरल विदेशी मुद्रा आर्जन गर्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *