८० प्रतिशत नेपाली दन्त उपचारबाट वञ्चित, ३५–४४ वर्षमै दाँत झर्ने समस्या बढ्दो

काठमाडौं, ९ चैत । शहरी क्षेत्रमा दन्त उपचार सेवाको सहज उपलव्धता भए पनि ग्रामीण क्षेत्रका जनताले दन्त उपचारको सहज पहुँच अझै पाउन सकेका छैनन् ।
विभिन्न अध्ययनले नेपालमा करिब ८० प्रतिशत नागरिक दन्त उपचार सेवाबाट वञ्चित रहेको बताएको छ । यसले नेपालमा मुख तथा दन्त स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको देखाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमै सबैभन्दा बढी देखिने स्वास्थ्य समस्या मुखसँग सम्बन्धित छन् । यसको उपचार पनि चौथो महँगो उपचारका रूपमा सूचीकृत छ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसी)का अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ भन्छन्, ‘दन्त उपचारका लागि राज्यका तर्फबाट हुनुपर्ने उपलव्धता र सचेतनाका कार्यक्रम अझै राम्ररी हुन सकेको छैन । अहिले पनि ३५ देखि ४४ वर्ष उमेर समूहका नेपालीहरूमा नै पाइरिया (गिजाको रोग) का कारण दाँत झर्ने समस्या बढ्दो छ। दाँतमा किरा लाग्ने, गिजा सुन्निने, मुखमा घाउखटिरा आउने तथा मुखको क्यान्सरजस्ता समस्या पनि व्यापक रूपमा देखिएका छन्।’
स्वास्थ्य विज्ञहरूका अनुसार मुख तथा दन्त स्वास्थ्यको बेवास्ताले मुटुरोग (हृदयघात) र मधुमेहजस्ता दीर्घरोगको जोखिम बढाउने मात्र होइन, गर्भवती महिलामा जटिलता समेत निम्त्याउन सक्छ। मुख स्वास्थ्य कमजोर हुँदा कम तौलको शिशु जन्मिने तथा समयअघि प्रसूति हुने सम्भावना रहने उनीहरूको भनाइ छ। त्यसैले गर्भ जाँचका क्रममा दन्त परीक्षणलाई समेत अनिवार्य बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
ग्रामीण भेगमा उपचार पहुँच अभावका कारण समस्या झनै जटिल बनेको छ। दाँतमा किरा लाग्ने, गिजाको रोग (दन्त हर्षा तथा पाइरिया), बाङ्गोटिङ्गो दाँत, मुखका घाउखटिरा, ट्युमर तथा सिस्टजस्ता समस्याबाट धेरै नागरिक पीडित छन्।
डा श्रेष्ठ भन्छन्, ‘यस्ता समस्याबाट बच्न दिनमा दुई पटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने, प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउने र सुरुआती अवस्थामै उपचार सुरु गर्न पर्छ । “प्रिभेन्सन इज बेटर देन क्योर” को अवधारणाअनुसार जनचेतनामूलक कार्यक्रम अघि बढाउनु अहिलेको आवश्यकता हो ।’
त्यसो त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले अहिलेसम्म देशका ७० भन्दा बढी जिल्लामा पुगेर निःशुल्क दन्त शिविर, विद्यालयस्तरीय दन्त शिक्षा तथा विभिन्न सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सरकारी सहयोग प्राप्त भएमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिने कलेजको भनाइ छ।
यसैबीच विश्व मुख तथा दन्त स्वास्थ्य दिवसको अवसर पारेर केडीसीले ‘ह्याप्पी माउथ इज ह्याप्पी लाइफ’ नारासहित कलेजले शनिबारदेखि सोमबारसम्म निःशुल्क दन्त परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। यस्तै स्कुले बालबालिकाहरुबीच निबन्ध तथा चित्रकला प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा दन्त स्वास्थ्यसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको छ।
फेडरेसन अफ डेन्टल इन्टरनेशनल (एफडीआई) ले सन् २००८ देखि हरेक वर्ष मार्च २० मा विश्व मुख तथा दन्त स्वास्थ्य दिवस मनाउँदै आएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 