रास्वपा उम्मेदवार डा. चन्दको वाचा पत्रमा पहिलो प्राथमिकता स्वास्थ्य

32
Shares
डा. आनन्दबहादुर चन्द

धनगढी, १४ फागुन ।  कैलाली–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्दबहादुर चन्दले आफ्नो चुनावी वाचा पत्रमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन्।

पार्टीको वाचापत्र बाहेक आफ्नो क्षेत्रका लागि तयार गरेको छुट्टै १५ बुँदे वाचा पत्रमा उनले कैलाली–५ लाई चिकित्सा शिक्षा र विशिष्टीकृत उपचार सेवाको केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।

सेती प्रादेशिक अस्पताल र स्वास्थ्य विज्ञान विश्वविद्यालय एकीकृत विकास

डा. चन्दले सेती प्रादेशिक अस्पताल र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई एकीकृत स्वास्थ्य–शिक्षा इकोसिस्टमका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।

अस्पताललाई उपचार र क्लिनिकल अभ्यासको केन्द्र तथा विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान र जनशक्ति उत्पादनको केन्द्र बनाइने उनले उल्लेख गरेका छन्।

उनका अनुसार विश्वविद्यालयमा एमबीबीएस तथा विशेषज्ञ चिकित्सा अध्ययन–अध्यापन सुरु गरिनेछ। साथै मुटु, मिर्गौला, क्यान्सर, जलन, सिकलसेल लगायत रोगहरूको अनुसन्धानमा आधारित विशिष्टीकृत उपचार सेवा विस्तार गरिने लक्ष्य राखिएको छ।

आधुनिक तथा डिजिटल स्वास्थ्य प्रणाली

दुर्गम क्षेत्रका बिरामीलाई टेलिमेडिसिनमार्फत विशेषज्ञ परामर्श उपलब्ध गराउने, एम्बुलेन्स सेवा र रक्तदाता व्यवस्थापनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तथा अस्पतालको सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल  सुलभ र पहुँचयोग्य बनाउने  योजना सार्वजनिक गरिएको छ।

केन्द्र अस्पताल र स्याटलाइट क्लिनिक नेटवर्क

गेटा मेडिकल कलेज सहित सेती अस्पताललाई मुख्य केन्द्र अस्पतालका रूपमा विकास गर्दै फूलबारी, गदरिया, उर्मा, भादा लगायत क्षेत्रमा स्याटलाइट क्लिनिक स्थापना गरिने उनको बाचापत्रका उल्लेख छ । यस्तै समुदायमै प्रारम्भिक परीक्षण, मातृ–शिशु सेवा र दीर्घरोग व्यवस्थापन उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ।

जनस्वास्थ्य, आयुर्वेद र स्वस्थ धनगढी अभियान

गर्भावस्थादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि पोषण कार्यक्रम सञ्चालन, नवजात शिशु हेरचाह सुदृढीकरण, किशोरी स्वास्थ्य र सुरक्षित मातृत्व प्रवर्द्धन कार्यक्रम विस्तार गरिने योजना छ।

यस्तै धनगढीस्थित धनगढी आयुर्वेद चिकित्सालयलाई रिफरल सेन्टरका रूपमा विकास गरिनेछ भने कैलाली–५ मा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने उल्लेख छ।

त्यसैगरी, नसर्ने रोग रोकथामका लागि ‘स्वस्थ धनगढी’ अभियान सञ्चालन, सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र वडा नं. ३ मा निर्माण सम्पन्न भई अल्पत्र अवस्थामा रहेको होल्डिङ सेन्टरलाई विशेषज्ञ उपचार वा तालिम केन्द्रका रूपमा प्रयोग गर्ने योजना अघि सारिएको छ।

सिकलसेल, नसर्ने र सरुवा रोग नियन्त्रण

स्थानीय तहबाटै सिकलसेल र थालेसेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिने उनको बाचापत्रका उल्लेख छ । यस्तै  सिकलसेल उपचारका लागि उपलब्ध एक लाख रुपैयाँको कभरेज बढाएर दीर्घकालीन उपचार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

रक्तचाप, मधुमेह, क्यान्सर, क्षयरोग लगायत रोगको प्राथमिक तहबाटै स्क्रिनिङ सुरु गरिनेछ भने डेंगु र क्षयरोग नियन्त्रणका लागि समुदायमा आधारित रोकथाम तथा निगरानी प्रणाली लागू गरिने योजना  समेत उनले आफ्नो बाचापत्रमा उल्लेख गरेका छन् ।

स्वास्थ्य बीमा र आपतकालीन सेवा विस्तार

वाचापत्रमा उनले  स्वास्थ्य बीमाको पहुँच विस्तार र दाबी प्रक्रियालाई सरल बनाइने उल्लेख गरेका छन् । आईसीयू, रगत आपूर्ति, ट्रमा सेवा र एकीकृत एम्बुलेन्स नेटवर्क स्थापना गर्ने योजना अघि सारिएको छ। साथै फिजियोथेरापी, पुनर्स्थापनात्मक सेवा तथा ज्येष्ठ नागरिक हेरचाह कार्यक्रम विस्तार गरिने प्रतिबद्धता डा. चन्दले जनाएका छन्।

डा. चन्दको वाचा पत्रले कैलाली–५ लाई समग्र स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य स्पष्ट पारेको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । उनीहरुले कैलालीको विकासका लागि यसरी बाचापत्र तयार गर्ने र सम्भावनाको आशा जगाउने उम्मेद्वार अरु नभएको भन्दै चन्दको पक्षमा खुलेर समर्थन गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम निकै पछाडी छ । स्वास्थ्यमा यस क्षेत्रमा धेरै काम गर्न सकिन्थ्यो तर अहिलेसम्म भईरहेको छैन । स्वास्थ्य क्षेत्रका लागि मैले अहिलेसम्म गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवका आधारमा यी प्राथमिकताहरु अघि सारेको हुँ । आवश्यकता अनुसार स्वास्थ्यमा अरु धेरै काम गर्न सकिन्छ,’ उम्मेद्वार डा. चन्दले भने ।

उनले शिक्षा स्वास्थ्य खानेपानी सडक पूर्वाधार, युवा रोजगारी, सीप विकास, खेलकुद, विदेशबाट फर्केकाहरुको उद्यमशीलता, कृषि आधुनिकीकरण र स्थानीय उद्योग प्रर्वद्धनलाई प्राथमिकता राखी स्थानीय प्रदेश र संघीय सरकारसंग सहकार्यसहित काम गर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *