अछाममा ४५ मिनेट सिपिआर दिइए पछि काठमाडौँ ल्याइएको थियो पत्रकार सिटौलालाई

काठमाडौँ, १७ माघ । ग्राण्डी अस्पालमा उपचाररत पत्रकार दिनेश सिटौलाको ‘सेरेवल एनोरिजम’बाट ‘ब्रेन हेमरेज’ भएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । अत्यन्त गम्भीर अवस्थामा रहेका उनलाई अहिले ग्राण्डीको आईसीयूमा ‘भेन्टिलेटर सपोर्ट’मा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहसंग सुदूरपश्चिम यात्रामा सहभागी पत्रकार सिटौला हिजो विहान अछाममा एक्कासी बेहोस भएर ढलेका थिए । अचेत भएका उनलाई झण्डै ४५ मिनेट सीपीआर दिनु परेको थियो । त्यसपछि सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो ।
ग्राण्डीमा सिटौलालाई हेरेका एक चिकित्सकका अनुसार उनको सेरेवल एनोरिजम (मस्तिष्कको रगतको नसा व्लास्ट हुने अवस्था) बाट ब्रेन हेमरेज भएको हो । ‘एनोरिजम भनेको रगतको नशाको पर्खाल कमजोर भएर नशा बेलुन जस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्छ । उहाँको हकमा पनि त्यहि भएको हो । अहिले उहाँलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । अवस्था गम्भीर छ । तर उपचार जारी छ,’ ती चिकित्सकले भने ।
उनले अचेत भएका सिटौलालाई अछाममा ४५ मिनेट सिपिआर दिनु परेको समेत बताए ।
उनी अस्वस्थ भएपछि बालेन पनि सुदूर पश्चिम तथा कर्णालीको यात्रा छोट्याएर काठमाडौँ फर्किसकेका छन् । उनले आजै दिउसो ग्राण्डी अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।
सिटौलाका परिवार तथा आफन्तहरुले स्वास्थ्य अवस्थाबारेमा तत्काल यथार्त जानकारी दिन भनिरहेका छन् । अस्पताल प्रशासन भने आइतबार मात्रै औपचारिक रुपमा जानकारी दिने योजनामा रहेको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 