सिन्दूर, टुथपेस्ट र गाजलमा भेटियो सिसाको अधिक मात्रा, जनस्वास्थ्यमा गम्भीर असरको जोखिम

काठमाडौं, १६ माघ । नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन, व्यक्तिगत सरसफाइ तथा परम्परागत उत्पादनहरूमा सिसा (लिड) को गम्भीर प्रदूषण रहेको एक अध्ययनले देखाएको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’ को प्राविधिक तथा आर्थिक सहयोगमा गरेको अध्ययनले यस्तो देखिएको हो ।
अध्ययन नेपालको प्रमुख शहरहरु काठमाडौँ, पोखरा, बिराटनगर र जनकपुरमा गरिएको थियो । गत अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म ती चार शहरका खुद्रा पसलबाट १०० नमुना (३१ टुथपेस्ट, ४० सिन्दूर र २९ गाजल) संकलन गरी परीक्षण गरिएको थियो।
‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस)बिधिबाट गरिएको प्रयोगशाला परीक्षणमा ३१ प्रतिशत नमूनमा लिड अर्थात सिसा भेटिएको छ, जसलाई अध्ययनले गम्भीर तथा अत्यन्तै चिन्ताजनक अवस्था भएको निष्कर्ष निकालेको छ।
सिसा भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाले निर्धारण गरेको १ पीपीएमको कडा मापदण्ड पार गरेका छन्। नेपालमा सौन्दर्य सामग्रीका लागि स्वेच्छिक रूपमा तोकिएको १० पीपीएम मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।
उत्पादनअनुसार सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त देखिएको छ। परीक्षण गरिएका सिन्दूरमध्ये ४० प्रतिशत नमुनामा सिसा भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म सिसा पाइएको छ। टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ, जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत समावेश छन्। गाजलमा सिसा भेटिने मात्रा कम भए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसको स्वास्थ्य जोखिम उच्च रहेको अध्ययनले जनाएको छ।
प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी (४२.५ प्रतिशत) नमुनामा सिसा भेटिएको छ। अध्ययनले “हर्बल” वा “प्राकृतिक” भनेर बिक्री हुने उत्पादनहरू समेत सिसाबाट सुरक्षित नरहेको तथ्य उजागर गरेको छ।
यसैबीच, सिन्दूर, टुथपेस्ट र गाजलमा सिसाको मात्राबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कस्मेटिक सामग्रीको प्रभावकारी नियमनका लागि औषधि ऐन संशोधन आवश्यक रहेको बताए। कतिपय उपभोग्य सामग्रीमा न्यूनतम मात्रामा सिसा पाइने गरेको उल्लेख गर्दै उनले यस्ता वस्तुहरूको स्पष्ट र कडा नियमन अपरिहार्य रहेको धारणा राखे। ऐन संशोधनको प्रक्रिया अगाडि बढिरहेको जानकारीसमेत उनले दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालीहरू अनजानमै यस्ता विषालु पदार्थको प्रयोग गरिरहेको हुनसक्ने उल्लेख गर्दै यसले बौद्धिक क्षमता घट्ने वा व्यवहारमा आक्रामकता बढ्ने असर पार्न सक्ने बताए।
स्वास्थ्य मन्त्रालयका उपसचिव डा. समिरकुमार अधिकारीले सेपेडले लिडसम्बन्धी अध्ययन तथा अनुसन्धानमा गरेको काम अतुलनीय भएको उल्लेख गर्दै जनस्वास्थ्यको महत्वपूर्ण विषयमा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले अभियन्ताका रूपमा आफू लिड फ्री उत्पादनको पक्षमा काम गरिरहेको बताइन्। उनले मिस नेपाल कस्मोको हैसियतले लिड फ्री उत्पादनका लागि मात्र ब्रान्ड एम्बेसडरको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन्।
सेपेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले साना बालबालिकामा लगाइने काजल, हरेक बिहान प्रयोग हुने दन्तमंजन र विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमा सिसाजस्तो विषाक्त तत्व भेटिनु अत्यन्तै गम्भीर विषय भएको बताए।
उनले यस्ता रसायन नियमन गर्ने अधिकार सम्पन्न सरकारी निकाय नहुनु ठूलो कमजोरी भएको उल्लेख गर्दै कस्मेटिक सामग्रीका लागि स्पष्ट मापदण्ड र प्रभावकारी कार्यान्वयन संयन्त्र आवश्यक रहेको बताए।
अध्ययनमा १०० मध्ये ३१ नमुनामा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको उनले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि सिसाको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरेको छ। अध्ययनले उपभोक्ताहरूलाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न, शिशुमा परम्परागत रूपमा काजल लगाउने अभ्यास कम गर्न तथा उत्पादक र विज्ञापनकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।
कार्यक्रममा सेपेडका सल्लाहकार मोहन कटुवाल, राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष इन्दिरा देवी ढकाल, विश्व स्वास्थ्य संगठनका डा. सुदन राज पन्थलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 