स्वास्थ्य मन्त्री डा. शर्मा भन्छिन्, ‘पीसीएल नर्सिङ हटाउन पाईदैन, हुँदैन र हटाईदैन’

'बिरामी प्रति अन्याय र सेवारत नर्सको अबमूल्यन हुन्छ'
116
Shares

काठमाडौं, १५ माघ । स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले एक सय शैय्याको अस्पतालमा पीसीएल नर्सिङ पढाउन दिन पर्ने पक्षमा आफू रहेको स्पष्ट पारेकी छन् । विहीबार नेपाल नर्सिङ संघको ६४ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

चिकित्सा शिक्षा ऐनले पीसीएल नर्सिङ गर्ने कुरा, चिकित्सा शिक्षा आयोगले पनि पीसीएल नर्सिङलाई फेजआउट गर्न चालेको कदमप्रति आफ्नो असहमति रहेको भन्दै उनले पीसीएल नर्सिङ हटाउने कुराले दुर दराजका बिरामीप्रति अन्याय हुने र स्वयं नर्सहरुको सेवाको अवमूल्यन हुने दावी गरिन् ।

उनले भनिन्, ‘हामीले अब पनि पीसीएल पढाउनै पर्छ, हटाउनु हुँदैन भन्ने कुराको म समर्थन गर्छु । किनभने स्वास्थ्य मन्त्रालय अन्तर्गतका दरबन्दीहरुमा पिसिएल नर्सको दरबन्दी छ । बीएस्सी र बीएन गरेकाहरुको दरबन्दी छैन भन्दा पनि हुन्छ ।यथार्थ के हो भने उहाँहरु (बीएस्सी र बीएन गरेकाहरु) दूर दराजका जिल्लामा गएर काम गर्नु पनि हुन्न । किनभने उहाँहरु विशिष्टिकृत जनशक्ति हो । विशिष्टीकृत अस्पतालमा काम गर्नुहुन्छ । त्यसैले विशिष्टिकृत दरबन्दी राख्नु पर्छ । तर सामान्य उपचार सेवा त पीसीएलले दिई राखेको हो । त्यसैले १०० शैय्याको अस्पतालमा पीसीएल पढाउन पाउछौँ, पढाउन पर्छ, पढाउन मिल्छ ।’

उनले ऐनमा क्रमश पीसीएल हटाउने भन्ने कुरामा आफूले संसोधन प्रस्ताव राखेको समेत उल्लेख गरिन । ‘मैले पीसीएल हटाउन हुँदैन भनेर, ऐन यसरी संसोधन गरिपाउँ भनेर संसोधनको मस्यौदा नै शिक्षा मन्त्रीकोमा पठाएको छु,’उनले भनिन् ।

मन्त्री डा शर्माले पीसीएल नर्सिङ पढाउने कुरा गर्दा पैसा कमाउने दाउ भनेर कतिपयले भन्ने गरेको आफूले सुनेको भन्दै त्यो गलत धारणा रहेको बताईन । ‘पीसीएल भन्यो कि पैसा कमाउने उपाय भनेर भास्य बनाइएको छ त्यो गलत हो नेपाल सरकारको निर्देशनमा खटिएर दुर दराजमा काम गरेका जनशक्तिलाई अहिले आएर चाहिदैन भन्नु उनीहरुको अपमान हुन्छ । त्यसैले म यसको पक्षमा छु ।’

कार्यक्रममा नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले पछिल्लो पटक भएको नर्सिङ आन्दोलनले नर्सिङ क्षेत्रमा केही उपलव्धीहरु हासिल भएको भन्दै त्यसको कार्यान्वयनका लागि सबैपक्ष इमान्दार हुनुपर्नेमा जोड दिईन । उनले नर्सिङ संघले २०६६ सालमा आन्दोलन गर्दा स्वास्थ्य सचिवको रुपमा डा सुधा शर्मा रहेको र यसपटकको आन्दोलनलाई एउटा निस्कर्षमा पुर्‍याइरहँदा डा शर्मा मन्त्रीको रुपमा रहेर महत्वपूर्ण काम गरेको भन्दै प्रसंशा समेत गरिन । उनले संघ नर्सहरुको हक हितका लागि सधै लागि परेको बताईन् ।

संघको सल्लाहकार समेत रहेकी पूर्व अध्यक्ष प्राध्यापक तारा पोखरेलले चिकित्सा शिक्षा आयोग आइसकेपछि नर्सिङ शिक्षा झन् अव्यवस्थित भएको भन्दै गुणस्तरमा प्रश्न उठ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिन् । उनले नेपालमा नर्सहरुको सम्मान उचित नहुने र नर्स बाहिरिने प्रबृत्ति बढ्दै जाँदा जनशक्ति अभाव हुने ठोकुवा गरिन् । उनले नर्सहरुलाई स्वास्थ्यको मुलधार र नेतृत्वमा लैजाने व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएकी थिईन् ।

कार्यक्रममा नेपाल नर्सिङ परिषद्की अध्यक्ष प्राध्यापक मुना रानाले स्वास्थ्य उपचारको क्षेत्रमा नर्सहरुको योगदान उच्च रहेको चर्चा गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *