अब दुई भन्दा बढी सन्तान जन्माउने अभिभावकलाई मासिक ४ हजार रुपैयाँ भत्ता

स्याङ्जा, २१ पुस । कालिगण्डकी गाउँपालिकामा अब दुई भन्दा बढी सन्तान जन्माउने अभिभावकले मासिक ४ हजार रुपैयाँ पालन पोषण भत्ता दिने भएको छ ।
घट्दो जन्मदरलाई नियन्त्रण गर्न तथा जनसंख्या बढाउन प्रोत्साहन गर्ने उदेश्यले यस्तो नीति लागू गरिएको गाउँपालिकाले जनाएको छ । यस्ता अभिभावकले दुई वर्षसम्म यो भत्ता पाउने छन् ।
‘आ.ब २०८२/८३ को नीति तथा कार्यक्रमबाट घट्दो क्रममा रहेको जनसंख्या वृद्धि गर्न जनसंख्या बढाउने नीति अङ्गिकार गरेको थियो । सो नीति अनुसार दुई भन्दा बढी सन्तान जन्माउने अविभावकलाई बच्चाको पालनपोषणका लागि बच्चा २ वर्षको हुँदा सम्म मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका थियौँ । त्यसका लागि छुट्टै कार्यविधि बनाउने र सोही अनुसार कार्यान्वयनको काम गर्ने भनिएको थियो । अहिले कार्यविधि बनिसकेको अवस्था छ । अब यो कार्यक्रम कार्यान्वयनमा आयो,’ गाउँ पालिकाका अध्यक्ष खिमबहादुर थापाले भने ।
उनले अहिले दुई भन्दा बढी सन्तान जन्माएका र जन्माउने क्रममा रहेकाहरुको गणना भइरहेको बताए । ‘हाम्रो गाउँपालिकामा साउन यता दुई भन्दा बढी सन्तान बच्चा जन्माउने अभिभावकले दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँको दरले भत्ता पाउने छन् । यसले सन्तानको पालनपोषण र हुर्काईमा सहयोग गर्ने अपेक्षा छ,’ थापाले भने ।
त्यसो त राष्ट्रिय जनसंख्या नीति,२०८२ ले पनि यही नीति अघि सार्दै कम्तीमा ३ बच्चा जन्माउन प्रेरित गरेको छ।
कालिगण्डकी गाउँपालिका भने दुई भन्दा बढी सन्तान जन्माउनका लागि प्रोत्साहन भत्ता अघि सार्ने देशकै पहिलो गाउँपालिका बनेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
