नवजात शिशुमा देखिने जन्मजात समस्याको पहिचान र उपचार

12
Shares

म प्राडा रामनन्दनप्रसाद चौधरी । बाल शल्य चिकित्सक र पेडियाट्रिक युरोलोजिष्टको रुपमा नेपालका सरकारी तथा निजी अस्पतालमा तीन दशक बढी सेवा प्रदान गरेको अनुभव छ ।

आज मैले तपाईँ समक्ष नवजात शिशुमा हुने मुत्र रोग सम्वन्धी अर्थात युरोलोजी सम्वन्धी समस्याको बारेमा केही जानकारी दिने कोशिस गरेको छु ।

पेडियाट्रिक युरोलोजीलाई पेडियाट्रिक सर्जरीको एक सुपर स्पेशलाइज विभाग वा यसको अभिन्न अगंको रुपमा मान्न सकिन्छ । यसका कामहरु धेरै र सम्वेदनशील छन् ।

जन्मजात आउने कतिपय समस्या देखि जन्मिसेकपछि देखिने कतिपय समस्याहरुलाई पेडियाट्रिक युरोलोजिष्ट वा पेडियाट्रिक युरोसर्जनले समाधान गर्न सक्छन् । गर्दै आएका पनि छन् । त्यसैले पनि अचेल अभिभावक वा दम्पत्तीहरु बच्चा जन्मिसके पछि मात्रै होईन, जन्मनु अघि देखिकै समस्याका बारेमा समेत चासो लिएर हामीकहाँ रिपोर्ट देखाउन आउनु हुन्छ । हामीले उपायहरु बताएका छौँ साथै परेका बेलामा समस्याहरु पनि सुल्झाएका छौँ ।

पेडियाट्रिक युरोलोजोष्टिले गर्ने कामका लागि नियमित गर्भ जाँच एउटा महत्वपूर्ण कार्य हो । गर्भवती महिलाले नियमित स्वास्थ्य जाँचसंगै आवश्यकताका आधारमा गरिने भिडियो एक्सरे (अल्ट्रासाउण्ड)ले गर्भमा विकसित हुँदै गएको शिशुमा समस्या छ कि छैन भनेर हेर्न पनि सकिन्छ ।

आमाको गर्भ १८ देखि २२ हप्ताको बीचमा रहँदा अर्थात २० हप्ता गरिने विस्तृत खालको अल्ट्रासाउण्डलाई एनोमली स्क्यान वा एनाटोमी स्क्यान पनि भनिन्छ । त्यसबाट पनि बच्चाको भित्र त्यस्तो ठूलो समस्या छ भने थाहा पाउन सकिन्छ । यसले भ्रुणको शारीरिक विकासको मूल्यांकन गर्न र कुनै पनि संरचनात्मक असामान्यता वा स्वास्थ्य अवस्थाको जाँच गरिन्छ ।

यसबाट यदि कुनै बच्चाको मिर्गौलामा पानी भरिएको वा सुन्निएको छ भने थाहा पाउन सकिन्छ । अर्थात मिर्गौलाका अथवा पिसाव जमेको देखिन्छ । वा पिसावको थैलो बाक्लो हुनु अथवा आमाको गर्भको पाठेघरमा चाहिने मात्रामा पानी कम देखियो भने युरोलोजी सम्वन्धी समस्या हो भनेर बुझ्न सकिन्छ । यति मात्रै होईन यो स्क्यानले स्क्यानले बच्चाको टाउको, मुटु, मेरुदण्ड र हातखुट्टाहरू, साथै प्लेसेन्टा सहित प्रमुख अंगहरूको जाँच गर्दछ। यसले धेरै जन्मजात अवस्थाहरू पत्ता लगाउन सक्छ ।

विकसित देशको कुरा र हाम्रो अवस्था
अमेरिका, जापान तथा युरोपका विकसित देशहरुमा उपचार सेवामा पनि अदभुद रुपमा प्रगति भएको छ । त्यसमध्येको हो एक फिटल सर्जरी । जो हामीकहाँ अहिलेसम्म सुरु भएको छैन ।

जन्मनु भन्दा पहिले पेटमा हुर्किरहेको भ्रुणलाई नै फिटेस्कोपको माध्यमबाट सर्जरी गरेर गरिने उपचार विधि हो । सन् २००७ मा नै मैले अमेरिकामा जाँदा यो सर्जरी देखेको हुँ । त्यसबेला गर्भवतीको पेट चिरेर भ्रुण निकालेर उपचार गरिन्थ्यो भने अहिले पेटपमा प्वाल पारि फिटेस्कोपबाट उपचार गरिन्छ ।

विकसित देशहरुले आमाको गर्भमा हुर्किरहेको भ्रुणमा केही समस्या छ भने पनि चिकित्सकीय ज्ञान र प्रविधिको माध्यमबाट समाधान गर्ने र स्वस्थ र फिट बच्चा जन्माउन मानिसहरु सक्षम भएका छन् ।

हाम्रो देशमा त्यो सुविधा भित्रिई सकेको त छैन तर हामीले सकेको उपचार र विकल्पहरु बताउने गर्दछौँ ।

अर्को कुरा हामीकहाँ बिदेशमा जस्तो स्वास्थ्य उपचार पुरा कभर गर्ने बीमा पनि आईसकेको छैन । नेपाल सरकारले पनि पुरा हेल्थ सर्भिस निशुल्क दिएको हुँदैन । यस्तो अवस्थामा चाहि आमालाई बच्चामा के समस्या छ ? भनेर पहिले देखि नै मिहिन ढंगले हेर्न सक्ने सबैको पहुँच पनि छैन । त्यसैले गर्भवतीलाई सुत्केरी हुने उपयुक्त अस्पतालमा लैजानु पर्छ ।

सुत्केरी गराउँदा कस्तो अस्पताल रोज्ने ?

यस्तै अस्पताल भनेर अहिले भन्न त गाह्रो होला तर सबैलाई त्यो सुविधा पाउने सम्भव पनि छैन तर सम्भव हुनेहरुले सुत्केरी गराउँदा बच्चा र आमाको उपचार समेत हुने अस्पताल रोज्दा ठिक हुन्छ ।

नेपालमा अहिले पनि सुत्केरी अवस्थामा आमा र शिशुको ज्यान जाने गरेको छ । समयमै सही उपचार नपाउँदै धेरै जसोको ज्यान जाने गरेको हो । त्यसैले म भन्न चाहन्छु, कि जहाँ आमा र बच्चा दुबैको उपचार हुन्छ, वा आमा र शिशु हेर्ने विशेषज्ञ चिकित्सकहरु छन् त्यहाँ लैजानु होला । अझ् गर्भ जाँचका क्रममा समस्या देखिएको छ भने त विशेष ध्यान दिनु होला ।

हामीले नर्मल डेलिभरी हुन्छ होला भनेर सोच्दछौँ, भए त राम्रो नै हुन्छ तर कहिलेकाँही आकस्मिक रुपमा सिएस (शल्यक्रिया गरि बच्चा निकाल्न गरिने) गर्नु पनि पर्न सक्छ । आमा र बच्चालाई आकस्मिक रुपमा समस्या देखा पर्न सक्छ । त्यसबेला आमाको एउटा अस्पतालमा र बच्चाको अर्को अस्पतालमा लैजानु पर्ने हुनसक्छ । त्यसैले दुबै उपचार हुने अस्पताल भयो भने सजिलो हुन्छ ।
ईशान बाल तथा महिला अस्पतालमा शिशु र आमा दुबैको उपचार गर्न सक्ने अस्पताल हो । त्यसैले धेरैको रोजाईमा यो अस्पताल परेको छ ।

बच्चा जन्मिने वित्तिकै आमा बाबुले के के कुरामा ध्यान दिने ?

अस्पतालमा जन्मिएको नवजात शिशुलाई त डाक्टर र नर्स (सिस्टर)हरुले हेर्नु हुन्छ । जन्मजात रुपमा बाहिरबाटै देखिने समस्या रहेछ भने पनि डाक्टर तथा नर्सहरुले जानकारी गराई नै हाल्नेछन् । त्यो कुरा सुत्केरी र आफन्तले पनि बुझ्ने छन्, देख्ने छन् । तर कहिलेकाँही बाहिरबाट हेर्दा ठिक देखिएको नवजात शिशुलाई राम्ररी ध्यान नदिदा जटिलता समेत उत्पन्न हुनसक्छ ।

अस्पतालमा बच्चा जन्मिने वित्तिकै के भयो ? छोरा कि छोरी ? भनेर चिकित्सकलाई सोध्ने चलन छ । चिकित्सकले पनि उनीहरुले सोधे अनुसारको जवाफ दिने चलन छ । तर कहिले काही लिंग छुट्याउनै गाह्रो भएको अवस्थाको अंग लिएर बच्चा जन्मछ । जुन डिजार्डर अफ सेक्सवल डिफरेन्सियएसन भन्दछौँ ।

बच्चा जन्मिसकेपछि २४ घण्टा भित्र बच्चाले पिसाव फेरेकै हुन्छ । दिसा पनि २४ घण्टामा फेरेकै हुनुपर्छ । बचाले जन्मेको २४ घण्टामा पनि दिशा गरेन भने र उसको पेट फुल्दै गइरहेको छ भने आन्द्रामा नसाको कमी छ भन्ने सम्भावना हुन्छ । अस्पतालमा डेलिभरी हो भने बालरोग विशेषज्ञले हेर्नु हुन्छ नै । लिंग कस्तो छ प्वाल छ कि छैन ? अण्डकोश कस्तो छ ठाउँमा छ कि छैन ? आदि ।

किनभने जन्मदा दुईवटै अण्डकोष ठाउमा हुनुपर्छ । त्यो बेला पत्ता लाग्यो भने उपचार गर्न सक्नुपर्छ । लिंगको छाला छोपिएको छैन,पिसावको प्वाल पनि मुनि छ भने वा माथि छ भने त्यसलाई हाइपोस्पिरियाज भन्छ, त्यो पनि एउटा पेडियाट्रिक सर्जन वा युरोलोजिष्टलाई देखाउनु पर्ने कुरा हो ।

जन्मने वित्तिकै आमालाई दुध खुवाउन लैजान्छन् । बच्चाले आमाको दुध चुस्छ कि चुस्दैन त्यो पनि महत्वपूर्ण कुरा हो । चुस्नु पर्छ चुसेन भने समस्या छ भनेर बुझ्नु पर्छ या त कमजोर छ भनेर बुझ्नु पर्छ । इन्फेक्सन वा सेप्सीसले गर्दा पनि नचुसेको हुनसक्छ । कहिलेकाँही खुडे ओठ वा तालु काटिएको हुनसक्छ । यस्तोले पनि चुस्न सक्दैन ।

दुध खाने वित्तिकै सड्कियो भने दुध खाने वित्तिकै निलो भएर जान्छ । त्यो भयो भने खाने नली र स्वाश नलि जोडिएको हुनसक्छ । त्यसलाई इसोफेजल एक्ट्रेजिया भन्छौँ । त्यस्तो बच्चामा दुध खुवाउन मिल्दैन । दुध खुवाईयो भने सड्केर फोक्सोमा जान्छ ।
जन्मदा नै शरीरमा डल्ला डुल्ली वा ट्युमर पनि हुनसक्छ । त्यो पनि हेर्नु पर्छ । कुनै बच्चाको दिशा गर्ने प्वाल माथि डल्लो पलाएको हुन्छ ।

सामान्य त जन्मेको २४ घण्टा पनि पिसाव फेरेन भने दुध नखाएर वा शरीरमा पानीको कमिले गर्दा हुनसक्छ । तर दुध खाइरहेको छ तर पिसाव फेरेन भने केटाको हकमा लिंगको टुप्पामा हुने पर्दाको कुरा हुनसक्छ । विशेषज्ञ चिकित्सक भएको ठाँउमा यी समस्याहरु हेर्ने गरिन्छ ।

हुन त भर्खर जन्मेको शिशुको लिंगको छाला खुलेको हुँदैन । सुरुमा सबैको बन्दै हुन्छ। त्यसलाई फिजियोलोजिकल फाइमोसिस भन्छ। तर छ महिना एक वर्षमा खुल्नु पर्छ । खुलेको छैन भने आमाले तेल मालिस गर्दा विस्तारै खिचिदिनु पर्छ यसले पनि खुल्न सक्छ । त्यो खुलेको पेसाको पाल ठीकै छ, तर उस पेसा फेर्न तुरुक तुरुक फेरिरह्या छ भने उसको पेसाबको बाटोमा पर्दा हो त्यसलाई प्रोस्टेडेटोरथल भल्भको समस्या हुन सक्छ । यसले खासगरी मिर्गौलामा नै असर पार्न पनि सक्छ । बच्चामा मिर्गौला फेल हुने सामान्य कारण प्रोस्टेडेटोरथल भल्भको कारणले हो ।

शिशु जन्मिएपछि विशेष गरी बालकहरुले पिसाव फेदा तुरुप तुरुप मात्रै फेर्छ जोडले फेर्दैन भने केही समस्या हुनसक्छ । यस्तोमा खासगरी आमा बाबुले नै ध्यान दिनुपर्छ । समस्या पहिचानमा ढिलो हुँदा कहिलेकाही युरिन इन्फेक्सन (युटीआई) हुनसक्छ । यसलाई समयमै पत्ता लाग्यो भने उपचार गर्न सकिन्छ ।

जन्मजात देखिने समस्याहरु के के हुन ?

जन्मजात धेरै किसिमका समस्याहरु हुन सक्छन् । माथि पनि उल्लेख भएको छ, खासगरी बाबुको हकमा पिसाव गर्ने लिंगको टुप्पोमा प्वाल हुँदैन वा कसैको मुनि पट्टी हुन्छ । अथवा लिंग पनि सिधा नभएर बाङ्गो हुन्छ। त्यसलाई हाइपरस्पेडियस भन्छन्। कसैको लिंग चाहिँ उल्टो, लिंग पूरै खुलेकै हुन्छ। कसैमा पिसावको नली नै हुँदैन । कहिलेकाहीं पिसावको थैलो पनि हाम्रो नाइटो मुनि हुन्छ । कहिलेकाँही पिसावको थैलो पनि पूर्ण रूपमा खुलेको त्यसलाई एक्स्ट्र प्रिपेस्पेडियस कम्प्लेक्स भनिन्छ । त्यो अलिकति रेयर कुरो हो तर यस्ता केशहरु पनि आईरहेको हुन्छ ।

बालिकाको हकमा कसैको दिशाको प्वाल, पिसाव गर्ने प्वाल र योनिको प्वाल एक ठाउँमा हुन्छ । त्यो चाहि रेयर केश हो । दस हजारमा जन्ममा एक जनालाई यस्तो हुन्छ।

अर्को चाहि बालक हो कि बालिका हो भनेर सेक्स छुट्याउन नै नसक्ने स्वरुपको शिशुको पनि जन्म हुने गर्दछ । मैले आफ्नो सेवाकालमा यस्ता धेरै केशहरुको फेस गरेको छु ।

कतिपयले नवजात शिशुलाई नुहाईदिदा निमोनिया भयो भन्ने गर्नु हुन्छ । तर यो सत्य होईन । स्वस्थ बच्चालाई नुहाएको कारणले निमोनिया हुने भन्ने होईन । मन तातो पानीले नुहाईदिने र तुरुन्त जिउ पुछेर सुख्खा गराईदिने गर्न सकेमा केही समस्या हुदैन ।
बरु चिसो हुन्छ भनेर बढी कपडाहरुमा गुम्स्याएर राख्दा समस्या हुनसक्छ । किनभने यसरी राख्दा पसिना आउने र त्यसले शरीरमा असर गर्न सक्छ ।

# प्राडा चौधरी ईशान बाल तथा महिला अस्पतालमा प्रमुख बाल शल्य चिकित्सक तथा पेडियाट्रिक युरोलोजिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *