एचआईभी संक्रमित महिलाहरुको सशक्तिकरण र क्षमता विकास तालीम श्रृङ्खला सम्पन्न
काठमाडौँ, ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोगको रुपमा परिचित युएसएआईडी बन्द गरिदिए ।
खारेज नहुँदासम्म युएसएआईडीले संसारका धेरै देशका सरकारी तथा गैर सरकारी संघ संस्थासंग मिलेर एचआईभी संक्रमित, क्वेर समुदाय, गर्भपतन लगायतका क्षेत्रमा धेरै सहयोग गर्दै आएको थियो ।
अप्रत्यासित रुपमा ट्रम्पले कार्यक्रम तथा सहयोग रोकेपछि कम विकसित राष्ट्रको सूचीमा रहेको नेपाल समेत प्रभावित बन्यो । त्यसको प्रभाव पछिल्लो पाँच महिना देखि देखिन थालेको छ । सहयोग गर्ने स्थानीय गैर सरकारी संस्थाहरु अमेरिकी प्रशासनले बजेट रोकिदिएपछि कसरी अघि बढ्ने भन्ने अन्योलमा छन् । युएसएआईडीकै सहयोग तथा आश्रयबाट औषधीमुलो गर्दै आएका एचआईभी संक्रमितहरु अहिले छट्पटाहट्को अवस्था देखिन्छन् ।
दातृ संस्थाको सहयोग रोकिदा पहिचान समेत लुकाएका सयौँ एचआईभी संक्रमित महिलाहरु झन् निरास छन् । मानसिक रुपमा समेत विच्छिप्त छन् ।
यसै सन्दर्भ पारेर क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्यालि (युएफभी) ले शनिबार देखि काठमाडौँमा एचआईभी संक्रमित महिलाहरुको पाँच दिने सशक्तिकरण र क्षमता विकास तालीम श्रृङ्खला सञ्चालन गरेको छ । उक्त तालीममा देशका विभिन्न भाग, विभिन्न उमेर समूह, विभिन्न जात जातीका महिला सहभागी छन् ।
‘एचआईभी संक्रमित २७ जना महिलाहरु यो सिकाई कार्यक्रममा सहभागी हुनुहुन्छ । त्यसमा ह्युमन ट्राफिकिङमा परेका महिला दिदीबहिनीहरु धेरै हुनुहुन्छ,’ युएफभीका सहायक प्राध्यापक डा रीता ढुंङ्गेलले भनिन् ।
‘मैले ह्युमन ट्राफिकिङको विषयमा धेरै नै अध्ययन गरे । त्यसपछि यस्ता संघ संस्थासंग सम्पर्क बढाउँदै अहिलेसम्म यहाँ आईपुगेँ । हामीले पहुँच विहिन एचआईभी संक्रमित महिलाहरुलाई प्राथमिकतामा राखेर काम गरेका छौँ,’ डा ढुंङ्गेलले भनिन् ।
तालीममा संक्रमित महिलाहरुलाई सञ्चारमाध्यमबाट के लाभ लिन सकिन्छ भन्ने सन्दर्भ जोडेर डा उद्धव पुरी, मनोचिकित्सक डा नरेन्द्र ठगुन्ना, अभिवक्ता यसोधा तिम्सिना, पत्रकार रामप्रसाद न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए ।
सहभागी संक्रमित महिलाहरुले सरकारका प्रतिनिधिप्रति लक्षित गर्दै कडा रोगको सूचीमा राखेर मुटु क्यान्सर तथा मिर्गौलाका बिरामीलाई उपचार गरे जस्तै एचआईभी संक्रमितलाई पनि सोही अनुसार सहयोग गर्नु पर्ने बताएका थिए ।
विविध कारणले संक्रमणमा यसले आफूमाथि त पिडा छँदैछ त्यसमाथि घर परिवार तथा समाजले गर्ने विभेद र लान्छनाले हामीलाई कहिलेकाँही त मर्ने बाँच्ने नै बनाउँछ । एक जना संक्रमित उमा( नाम परिवर्तन) ले भनिन् ।
सम्पर्क इमेल : [email protected]