सरकारले क्यान्सरविरुद्धको नयाँ औषधीको दर्ता सम्बन्धी नीतिहरु पुनरावलोकन गरोस : डा सुदीप श्रेष्ठ

120
Shares

काठमाडौँ, २९ चैत । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरविरुद्धको नयाँ औषधीको दर्ता सम्बन्धी नीतिहरु पुनरावलोकन गर्न सरकारलाई अनुरोध गरेका छन् ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका प्रमुख समेत रहेका डा. श्रेष्ठले शुक्रबार विहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नयाँ औषधीको दर्ता सम्वन्धी नीतिहरु पुनरावलोकन गर्न सरकारसंग अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘म स्वास्थ्य मन्त्रालय र औषधी ब्यवस्था विभाग (डीडीए) सँग विशेषगरी क्यान्सर विरुद्धको नयाँ औषधिको दर्तासम्बन्धी नीतिहरू पुनरावलोकन गर्न अनुरोध गर्दछु। अहिलेको कडा दर्ता प्रक्रियाका कारण नयाँ औषधिहरूको पहुँचमा अवरोध सिर्जना भएको छ, जसका कारण नेपाली बिरामीहरू अनियन्त्रित स्रोतहरूमा भर पर्न बाध्य छन्। यसले उनीहरूलाई ठगीको जोखिममा पार्छ वा उपचारका लागि विदेश जान बाध्य बनाउँछ। हामीले पटकपटक आवाज उठाउँदा पनि यो समस्या अहिलेसम्म समाधान हुन सकेको छैन।’

चिकित्सक तथा बिरामी पक्षले नेपालमा क्यान्सरका सबै औषधी दर्ता नभएको कारण पनि उपचार तथा औषधीका लागि भारत वा तेस्रो मुलुक जानु पर्ने बाध्यता भएको बताउँदै आएका छन् ।

भारतसंगको खुल्ला सिमाना र बिरामीका लागि आवश्यक पर्ने अवस्थाको लाभ लिदै कतिपयले भने अवैध र असुरक्षित ढंगबाट झोलामा ल्याइएका औषधीको भर पर्नु परेको बताउने गरेका छन् ।

‘त्यसरी ल्याइएका औषधीहरुको न गुणस्तर एकीन हुन्छ न मूल्य नै निश्चित हुन्छ । राज्यको दायरामा नआएपछि न भन्सार, न नियमनको दायरामा ? विभागका एक पूर्व अधिकारी भन्छन्,’ यसले झनै जोखिम बढाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *