नवजात शिशुको बाबु आमा को हो ? दावी गर्न आउनुहोस् भन्दै नगरपालिकाले निकाल्यो सूचना

बर्दिया, १९ फागुन । बाटोको नालामा पातपतिङ्गरले छोपेको अवस्थामा भेटिएको सालनाल सहितको वेवारिसे शिशुको स्वास्थ्यमा सुधार आएपछि बारबर्दिया नगरपालिकाले बाबु आमाको खोजी सुरु गरेको छ । नगरपालिकाले आइतबार सार्वजनिक सूचना नै जारी गरेर बाबु आमा हक दावी गर्न भनेको हो ।
गत ६ फागुनमा बारबर्दिया नगरपालिका वडा नं २ कुमारागाँउको नालामा स्थानीय देवीराम थारुले सालनाल सहित वेवारिसे अवस्थामा सालनालसहितको शिशु (छोरा) पातपतिङगरले छोपेको अवस्थामा फेला पारेका थिए । उनले तत्कालै आफ्नो वडा सदस्य खिमा परियारलाई जानकारी गराएपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले उद्धार गरी बनियाभार स्वास्थ्य चौकीमा पुरयाएका थिए ।
चौकीले अत्यावश्यक शिशु स्याहार गरेपछि तत्कालै थप उपचारका लागि बर्दिया अस्पताल पुरयाएको थियो । अस्पतालले आफूकहाँ रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को प्रणालीमा राखेर शिशुको उपचार तथा निगरानी गरिरहेको बताएको छ ।
यता नगरपालिकाले भने एक साता भित्र बाबु आमा हक दावी गर्न आउनु भन्दै सूचना प्रकाशन गरेको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवास पाण्डेयले नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य उन्मुख रहेको र डिस्चार्ज गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए ।
‘जन्मेकै दिन नालामा भेटिएपछि नजिकैको स्वास्थ्य चौकीमा लगेर सालनाल काटि सफा गरेर अस्पताल ल्याइएको थियो । त्यसबेला शिशुको तौल ३ केजी थियो । तर पातपतिङ्गरले छोपिएकोले संक्रमण थियो । अहिले स्वास्थ्य अवस्था राम्रो छ । डिस्चार्जका लागि योग्य भइसकेको छ तर दावी आएर हस्तान्तरण नहुँदासम्म शिशु यहि ओसीएमसीमै रहन्छ,’ उनले भने । उनले उपचार तथा हेरचाह लगायतका सबै व्यवस्थापन खर्च ओसीएमसीले नै व्यहोरेको बताए ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

