धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया

वागलुङ, १९ मंसिर । धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो ।
धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ ।
यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् । अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् ।
हड्डीरोग विशेषज्ञ डा प्रमेश थापा र डा समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा अमित ढुङ्गानाको समूहले दुई वर्षमा सात सयवटा हाडजोर्नी तथा नशासम्बन्धी शल्यक्रिया गरेको अस्पतालका मेडिकल अधिकृत डा सन्दीप केसीले जानकारी दिए।
‘अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत हाडसम्बन्धी समस्या लिएर आउनुहुन्छ । दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ’, केसीले भने, ‘आधुनिक जीवनशैली र बढ्दो दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाका बिरामीलाई समेत सेवा दिएको छ ।’
अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ(प्लेटिङ’‘टिबिया नेलिङ-प्लेटिङ’,‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुनःनिर्माण’ लगायत जटिल प्रकारका शल्यक्रियासमेत सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा भइरहेको छ । अस्पतालले ‘टेन्डन रिपेयर’, हात र खुट्टाका सामान्य शल्यक्रिया पनि गर्दै आएको छ ।
दुई वर्षयता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
