सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण

काठमाडौँ, ५ मंसिर । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
उक्त संख्यामध्ये सातसय बढी बिद्यार्थीको इको गरिएकोमा ३४ जना छात्रछात्राको मुटुमा प्वाल परेको र १२ जना बिद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने परीक्षणमा प्रमाणित भएको आयोजक संस्थाका शाखा सभापति कमलचरण कक्षपतिले जानकारी दिए ।
मुटुमा प्वाल परेका बिद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना बिद्यार्थीलाई अभिभावक, बिद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित शहिद गंगालाल हृदय प्रतिष्ठान अस्पतालमा निःशुल्क अप्रेसन गराउने सभापति कक्षपतिले बताए ।
चौतारा साँगचोकगढी नगरपालिकाको जनबिकास माध्यमिक बिद्यालय, जनजागृति माबि, रामदेवी माबि, ईखु माबि, ज्ञानमन्दिर माबि, सेतीदेवी माबि, सिद्धिकमला माबि लगायत १४ वटा बिद्यालयका बिद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से माबि, इन्र्देश्वरी माबि, जालपा माबि लगायत ६ वटा बिद्यालय र हेलम्बुको सरस्वती माबिका छात्रछात्राको निःशुल्क मुटु परीक्षण गरिएको नेपाल हार्ट फाउण्डेसन जिल्ला सदस्य प्रेम लामाले बताए ।
नेपाल हार्ट फाउण्डेसनका डाक्टर, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजु लगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो । सो अवसरमा शिक्षक, कर्मचारीको ब्लडप्रेसर पनि जाँच गरिएको थियो ।
प्रतिष्ठान जिल्ला समितिले स्वास्थ्यसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गर्दैआएको छ । त्यसैक्रममा चौतारास्थित कृष्णरत्न गंगा माबि समुदाय सचेतनामूलक कार्यक्रम गरेको छ । २०६५ सालमा स्थापना भएको जिल्ला शाखाले बाल हृदय बचाउ अभियान सञ्चालन गर्दैआएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
