१०० बढी स्वास्थ्यकर्मीको तलव महिनौँ रोकेका नारायणीका मेसुले स्वास्थ्य मन्त्री पौडेलको स्वागतमा ठड्याए पण्डाल

पर्सा, २४ भदौ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भोलि (मंगलबार) वीरगञ्जस्थित नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा नारायणीमा ५ बेडको क्यान्सर उपचार सेवा प्रारम्भ हुन लागेको हो ।
अस्पतालमा सेवा थपिनु र त्यसको उद्घाटन गर्न विभागीय मन्त्री आउनु अस्वभाविक विषय पनि होइन । तर अस्पतालले यो उद्घाटन कार्यक्रमलाई अतिरञ्जित तरिकाले खर्चिलो बनाउँदै छ ।
अनावश्यक खर्च कटौती गर्नुपर्छ भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल जिम्मेवारी सम्हाले देखि नै कुनै पनि सार्वजनिक समारोहमा गएर खादा, माला र ब्याच लगाउने गरेका छैनन् । तर नारायणीका मेसु डा. मो एनामुल हकले मन्त्री पौडेलको आगमनलाई विशेष बनाउन ‘धुम धडका’ गर्न आटेका छन् ।
‘उनले कार्यक्रमका लागि भन्दै हिजो देखि कार्यक्रमस्थलमा पण्डाल तयार गरेका छन्, कार्यक्रम पछि सहभागीहरलाई खाजा तथा खानाको विशेष व्यवस्था गरिएको छ । यहाँको तयारी हेर्दा भोलि कम्तीमा पनि १० – १५ लाख खर्च गरिदैछ । यो सबै अनावश्यक र मन्त्रीलाई देखाउने चाकडी मात्रै हो । यसअघि देखि नै विवादित निमित्त मेसु हकले आफ्नो पद जोगाउन र मन्त्रीलाई खुशी पार्न भन्दै यो सब गरिरहेको छ,’ एक जना स्वास्थ्यकर्मीले नेपाली हेल्थलाई भने ।
हुन पनि निमित्त मेसु हकले अहिले पनि दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्ने १०० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीको तलव विगत ५ महिना देखि रोकिएको अवस्थामा यो काम अघि बढाएका थिए । आफूहरुको पाँच महिना देखिको तलव नदिने तर उद्घाटनको नाममा लाखौँ खर्च गर्न लागेको सुईँको ती स्वास्थ्यकर्मीले पाएपछि मन्त्रीकै अगाडी विरोध गर्ने चेतावनी दिएका थिए । त्यसपछि मेसुले आज मात्रै रोकिएको पाँच महिना मध्ये दुई महिनाको तलव उपलव्ध गराएको अर्का एक चिकित्सकले बताए । उनले भने ‘अझै ती कर्मचारीहरुको तीन महिनाको तलव आएको छैन।’
प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएर आउनु अघि स्वास्थ्य मन्त्री बनेका वीरगञ्जबाट विजयी सांसद प्रदीप यादवले हकलाई नारायणी अस्पतालको नि मेसु बनाईदिएका हुन् । तर उनीमाथि आईसीयू, पीआईसीयू, क्याथल्याव मेसिन खरीद, ओपिडी भवन निर्माण लगायतका कार्यमा अनियमितता गरेको आरोप छ । माथिल्लो तहका नेता र मन्त्री हात लिन सिपालु उनले ती आरोपलाई वेवास्ता गर्दै एक पछि अर्को रमिता देखाईरहेका छन् ।
‘भक्तपुर क्यान्सर अस्पतालले गरेको विस्तारित सेवा सम्झौँता तथा ५ शैय्याको एउटा युनिट उद्घाटन कार्यक्रम सामान्य रुपमा मिटिङहरुबाट पनि गर्न सकिन्थ्यो तर सबै दलका नेता, उच्च अधिकारीहरुलाई बोलाई बृहत कार्यक्रम गरेर उनी फेरी पनि आफ्नो कमजोरी लुकाउने र मन्त्रीलाई आफ्नो प्रभावमार पारी पद जोगाउने योजनामा लागेको प्रष्ट हुन्छ,’ अस्पताल अर्का एक कर्मचारीले भने ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

