डेन्टल हाईजेनिस्टहरुद्धारा परिषद् अध्यक्षको कार्यकक्षमा तालाबन्दी

828
Shares

काठमाडौँ , २७ चैत । आफ्ना माग पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएको डेन्टल हाईजेनिस्टहरुको समूहले शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को कार्यालय पुगी अध्यक्षको कार्यकक्षमा तालावन्दी गरेका छन् ।

डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपालको अगुवाईमा गएको समूहले अध्यक्ष डा. सुवोधकुमार शर्माको कार्यकक्षमा तालवन्दी गरेका हुन् । उनीहरुले परिषद् अध्यक्षको मुल गेटमा तालाबन्दी पछि एउटा बैशाखी समेत झुण्डाईदिएका छन् ।

बालेन्द्र शाह नेतृत्वको बर्तमान सरकार गठन भएपछि सरकारी संस्था तथा त्यहाँका पदाधिकारी कार्यशैलीको बिरोध गर्दै पेशागत समूहले यसरी आन्दोलन गरेको थिएन । त्यस अर्थमा डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन अफ नेपाल सरकारी पदाधिकारीको कार्याकक्षमा तालावन्दी गर्ने पहिलो संगठन बनेको छ ।

एसोसिएनका अध्यक्ष माइकल देवकोटाले आफ्नो मागहरु सम्वोधन नभएपछि बाध्यभएर तालावन्दीमा उत्रिनु परेको बताए । ‘हामीले यसअघि धेरै आन्दोलन गरयौँ , अनसन बस्यौँ सरकारले हामीसंग माग पुरा गर्ने सम्झौँता गरयो तर कार्यान्वयन गर्ने बेलामा आँखा चिम्लियो । त्यसैले हामीले आज बाध्य भएर अध्यक्षको कार्यकक्षमा तालावन्दी गरेका हौँ । माग सम्वोधन नभए थप कार्यक्रमहरु सार्वजनिक गर्नेछौँ,’ उनले भने ।

उनले परिषद् अहिले अपांग जस्तो देखिएको भन्दै सांकेतिक रुपमा बैशाखी झुण्ड्याइदिएको बताए ।

देवकोटाले मन्त्रालयसंग गत ४ माघमा भएको सम्झौँता कार्यान्वयन गर्नुपर्ने र परिषद् माथि छानविन गर्न समेत माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *