हप्ताको दुई दिन विदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हकमा समेत लागू होस : नेपाल चिकित्सक संघ

180
Shares

काठमाडौँ, २३ चैत । पेट्रोलियम पदार्थको सहज व्यवस्थापनका लागि भन्दै सरकारले आजबाट लागू हुने गरी साताको दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय तथा शिक्षण संस्थामा विदा दिने निर्णय गरेको छ ।

तर,  अस्पताल तथा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी तथा चिकित्सकको हकमा यो निर्णयमा केही भनिएको छैन ।

नेपाल चिकित्सक संघले भने हप्ताको दुई दिन विदा दिने निर्णय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हकमा पनि लागू गर्न सरकार समक्ष आग्रह गरेको छ ।

संघका महासचिव डा सञ्जीव तिवारीले  आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।  उनले हप्ताको दुई दिन विदा दिने निर्णयको स्वागत समेत गरेका छन् तर संगसंगै भनेका छन्, ‘यो निर्णय चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि लागू होस् ।’

उनले विज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आराम गर्नका लागि हप्ताको दुई दिन विदा दिने अन्तराष्ट्रिय प्रचलन रहेको समेत उल्लेख गरेका छन् । यसैगरी उनले अन्तराष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधी (काम गर्ने समय) हप्ताको ४२ घण्टा तोकेको भए पनि नेपालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको बताएका छन् ।

डा तिवारीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्नका लागि अन्य पेशाकर्मीहरुलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको संघले ठहर गरेको समेत उल्लेख गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई हप्ताको दुई दिन विदा दिने विषयमा अहिले निर्णय भएको छैन: स्वास्थ्य सचिव डा देवकोटा 

स्वास्थ्य सचिव डा विकास देवकोटाले भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई हप्ताको दुई दिन विदा दिने भन्ने विषयमा अहिले निर्णय भई नसकेको बताए ।

उनले अरु कर्मचारीहरुलाई विदा दिई रहँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छिटै छलफल हुने समेत जानकारी दिए ।

‘अब अस्पतालहरुको सेवा दुई दिन विदा गर्न अलि सम्भव नहोला कि । उपचार व्यवस्थापनमा कठिनाई होलाकी भन्ने छ । त्यसैले समाधानका विभिन्न उपायबारेमा छलफल हुँदैछन् । एउटा निकास पक्कै निस्कन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *