स्वास्थ्यमन्त्री मेहतालाई स्वास्थ्यकर्मी मुडभरीले बुझाए ४३ बुँदे सुझाव पत्र
काठमाडौं, २३ चैत । वीर अस्पतालका स्वास्थ्यकर्मी दीपक मुडभरीले स्वास्थ्य मन्त्री निशा मेहतालाई समक्ष स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले तयार पारेको ४३ बुँदे सुझाव पत्र पेश गरेका छन् । सिंहदरबारस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार मन्त्री मेहतासंग भेट गर्दै उनले सुझाव पत्र पेश गरेका हुन् ।
सुझाव पत्रमा उनले स्वास्थ्य सेवाको वर्तमान अवस्थालाई सुधार गर्न ठोस, व्यवहारिक र दीर्घकालीन योजना अघि सार्नु पर्ने उल्लेख गरेका छन् ।
नेपालको स्वास्थ्य सेवा पछिल्ला वर्षहरूमा पहुँचको हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनका दृष्टिले अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले क्यान्सर, मुटु, मिर्गौला तथा मानसिक रोगजस्ता नसर्ने रोग तीव्र रूपमा बढ्दै गइरहेको, स्वास्थ्य जनशक्ति पलायन, महँगो उपचार, असमान सेवा वितरण र कमजोर सुशासनले नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको विषयलाई गम्भीरताका साथ लिएर अघि बढ्न सुझाव दिएका छन् ।
हेर्नुहोस उनले दिएको ४३ बुँदे सुझाव
१. सबै नागरिकका लागि निःशुल्क/ आकस्मिक स्वास्थ्य सेवा र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चिता र स्वास्थ्य सेवामा समान पहुँच । ७५३नै स्थानीय तहमा जनसंख्या र भौगोलिक आधारमा आधारभूत अस्पताल र वडा स्वास्थ्य क्लिनिक स्थापना गर्ने । आधारभुत अस्पतालमै MDGP बिशेषज्ञ चिकित्सक उपलब्ध गराउने ।
२. स्वास्थ्य बीमालाई सबै सरकारी तथा गैरसरकारी क्षेत्रमा अनिवार्य बनाउँदै दाबी प्रक्रिया सरल, पारदर्शी र समयमै भुक्तानी गर्ने । तिनै तहको सरकार बिचमा समन्वय । अखाद्य पदार्थमा कर वृद्धि र सो रकम स्वास्थ्य बीमामा लगानी गर्ने ।
३. नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप, मुटु रोग, क्यान्सर ) रोकथामका लागि जीवनशैली सुधार, सरुवा रोग नियन्त्रण , निदानात्मक कार्यक्रम स्थानीय तह बाटै जनस्वास्थ्य कार्यक्रम सन्चालन गर्ने ।
४. क्यान्सर, मिर्गौला, मुटु तथा जटिल रोगको एकद्वार उपचार प्रणाली विकास गर्ने ।
५. स्थानीय सरकार मार्फत विद्यालय स्वास्थ्य , मानसिक रोग , दुर्व्यसन नियन्त्रण, आत्महत्या जस्ता विषयमा जनचेतना मुलक सेवा प्रभावकारि रुपमा सन्चानल गराउने गर्ने ।विद्यालय नर्स को व्यवस्था अनिवार्य गर्ने ।
६. बाल स्वास्थ्य, पोषण र पूर्ण खोप कार्यक्रम सुदृढीकरण गर्ने । महिला प्रजनन् स्वास्थ्य मा आवश्यक कार्यक्रम ल्याउने ।
७. प्रत्येक स्थानीय तहमा न्यूनतम मापदण्डसहितको(जनशक्ति ,उपकरण र गुणस्तरीय औषधि ) आधारभूत अस्पताल सञ्चालन गर्ने ।
८. स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको अवधारणा अनुसार कुल बजेट को १०% बजेट सुनिश्चितता र दीर्घकालीन स्वास्थ्य नीति ,स्वास्थ्य सेवा ऐन/नियमावली ल्याउने ।
९. दुर्गम क्षेत्रमा दक्ष जनशक्ति सहित एयर एम्बुलेन्स सेवा सन्चालन गर्ने । विपत् व्यवस्थापन उद्धार गर्नको हेलिकप्टर तयारि अवस्था मा राख्ने ।
१०. स्थानीय स्वास्थ्य संस्थाले संघकी अस्पताल सँगको समन्वयमा टेलिमेडिसिन सेवा लाई प्रभावकारी रुपमा सन्चालन गर्ने । वैदेशिक रोजगारीमा रहेका श्रमिक लाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराउने।
११. संघीय अस्पतालहरु प्रभावकारी ,गुणस्तरीय र नागरिक मैत्री सेवा अझ सहज रुपमा सन्चालन गर्ने ।
१२. स्वास्थ्य विशेषज्ञ जनशक्ति उत्पादन, संरक्षण र पलायन रोक्न विशेष प्याकेज ल्याउने( जस्तै सेवा, सुविधा, अवसर , सम्मान र सुरक्षा) ।
१३ . आयुर्वेद, योग तथा वैकल्पिक चिकित्साको प्रवर्द्धन गर्दै आधुनिक उपचारसँग समन्वय गर्ने ।विद्यालय तह देखिनै योग शिक्षा लागू गर्ने ।
१४. औषधिमा आत्मनिर्भर हुन उद्योग स्थापनाका लागि प्रोत्साहन तथा गुणस्तरीयता कायम गरि स्वदेशी उत्पादन उपयोग लाई प्रोत्साहन गर्ने गराउने । ओँषधि व्यवस्था विभाग र प्रयोगशाला लाई अनुगमन र गुणस्तर
नियन्त्रण तथा सक्रिय बनाउने ।
१५. औषधि, उपकरण र सर्जिकल सामग्री खरिदमा पूर्ण पारदर्शिता र गुणस्तर नियन्त्रण तथा औषधिको मुल्यमा एकरुपता कायम गराउने । स्वास्थ्य सेवा अन्य सेवा जस्तो नभएका कारण स्वास्थ्य उपकरण खरिद प्रकिया लाई बैज्ञानिक रुपमा गर्ने खरिद ऐन संसोधन गर्ने । बिगि्रएका उपकरण मर्मत र प्रयोग को नीति कडाइसाथ लागू गर्ने ।
१६. वडा तथा आधारभूत स्वास्थ्य संस्था को भौतिक संरचना , जनशक्ति ब्यवस्थापन र गुणस्तरीय औषधि, उपकरण उचित ब्यवस्था गर्ने । महिला स्ंयवसेवि लाई तालिम र इन्सेन्भिटको व्यवस्था गर्ने ।
१७. स्वास्थ्य क्षेत्रमा आधुनिक अनुसंन्धानमा लगानी गर्ने ।
१८. शुद्ध खानेपानी, सुरक्षित खाद्य प्रणाली र पोषण सुरक्षामा राज्यको दायित्व र अन्तर मन्त्रालय समन्वय गर्ने जस्तै: खानेपानी , वातावरण , महिला बालबालिका ,कृषि ,भौतिक पुर्वाधार ,शिक्षा र गृह मन्त्रालय सग सहकार्य गरि कार्ययोजना बनाउने । कृषि तथा मासुजन्य उत्पादनमा अखाद्य पदार्थ नमिसाउन स्थानीय तहले जनचेतनामूलक कार्यक्रम र कडा अनुगमन गर्ने ।
१९. जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरणका लागि तयारी योजना बनाउने ।
२०. जनस्वास्थ्य चेतना, मानसिक स्वास्थ्य र रोकथाममुखी कार्यक्रम प्राथमिकतामा दिने ।
२१. स्वास्थ्य सेवाका कारण हुने बसाइँसराइ अन्त्य गर्न गाउँ–केन्द्रित गुणस्तरीय र पहुँच योग्य सेवा सन्चालनमा ल्याउने ।
२२ प्रदेश स्तरमै सुपर स्पेसियालिटी अस्पताल , जलन उपचार केन्द्र , ट्रमा सेन्टर तथा पुनःस्थापनाका केन्द्र , आधुनिक प्रयोगशाला स्थापना र सन्चालन गर्ने । जसले गर्दा संघीय अस्पतालमा सेवाग्राहीको चाप घट्न जान्छ।
२३. स्थानीय, प्रदेश र संघीय तहबीच स्पष्ट अधिकार, समन्वय र सहकार्य गर्ने ।
२४ स्वास्थ्य सेवा स्थानीय स्वास्थ्य संस्था देखि केन्द्रीय अस्पताल र अन्तर अस्पताल डिजिटलाइजेशन एवं EMR प्रणालि र रेफरल सिष्टम सन्चालनमा ल्याउने ।
२५. उपचारात्मक सेवा का साथै निदानात्मक सेवामा विशेष कार्यक्रम सन्चालनमा ल्याउने ।
२६ . महामारी ,प्राकृतिक बिपत्ति र दुर्घटनाको लागि Rapid Response Team पुर्व तयारीमा अवस्था मा राख्ने ।
२७. दिगो विकास लक्ष्य पूरा गर्ने अवधारणा अनुरूप समावेशी र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्ने ।
२८. स्वास्थ्यमा लगानी कुनै दान वा उपहार नभइ , स्वास्थ्य र समुन्नत नेपाल निर्माण को लागि लगानी हो भन्ने अवधारणा अनुसार लगानी कार्य गर्ने ।
२९ स्वास्थ्यकर्मी सुरक्षा ऐन पुर्ण कार्यान्वयन गर्ने ।
३० निजि स्वास्थ्य संस्थाले १०% सेवा नि:शुल्क उपलब्ध गराउनु पर्ने साथै विपन्न ,बेवारिसे ,असाह लाई सम्पूर्ण सेवा नि:शुल्क गर्नु पर्ने निजि संस्थाले स्वास्थ्यकर्मी लाई वेतन सरकारी अनुसार उपलब्ध गराउन पर्ने ।
३१. ज्येष्ठ नागरिक उपचार लाई छुट्टै वार्ड सन्चालन गर्ने तथा प्यालेटिभ सेवा ब्यवस्थित रुपमा सन्चालन र पुनर्स्थापनात्मक सेवा सन्चालन गर्ने ।
३२. दक्ष स्वास्थ्यकर्मी उत्पादन , आधुनिक प्रविधि अनुसार तालिम, दुर्गममा सेवा गर्न प्रोत्शाहन र काम अनुसार उचित अवसर तथा सम्मान गर्ने ब्यवस्था मिलाउने ।
३३. चिकित्सा शिक्षा आयोग, स्वास्थ्य विश्वबिधालय र सिटीईभिटी लाई समयानुकूल बनाउने ।
३४. राजधानी लगायत शहरी क्षेत्रमा अस्पताल हरुमा देखिने सेवाग्राहीको चाप नियन्त्रण का लागि पुर्ण रुपमा अनलाइन र डिजिटलाइसेन प्रणाली ब्यवस्था मिलाउने ।
३५.अङ्ग दान , मस्तिष्क मृत्यु अङ्ग दान लाई कानुनी रुपमा सरल र सहज बनाउदै ,सातै प्रदेशमा बिस्तार गर्ने ।
३६. एम्बुलेन्स सेवा लाई एकद्वार प्रणालि मार्फत ब्यवस्थित र सुविधा सम्पन्न तथा तालिम प्राप्त स्वास्थ्यकर्मी उपलब्ध गराई सन्चालन गर्ने ।
३७. सातै प्रदेशमा कम्तीमा पनि एक एक बटा सरकारी मेडिकल कलेज स्थापना गर्ने ।
३८. सबै संघीय अस्पताल लाई सुपर स्पेसियालिटी सेवा र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज को रुपमा अध्यान अध्यापन गराउने ब्यवस्था मिलाउने ।
३९) सबै संघीय तथा केन्द्रीय अस्पतालमा Icu को कमि तथा अपरेसन गर्न लामो समय कुर्नु पर्ने अवस्था को अन्तको लागि शैया र जनशक्ति थप गर्दै सेवा प्रवाह लाई सहज बनाउने।
४०. स्वास्थ्य संस्था सुशासन कायम राख्न संस्थाको नेतृत्व आस्था को आधारमा नभई योग्यता र कार्य क्षमताको आधारमा जिम्मेवारी दिने ।
४१. प्रतेक स्थानीय सरकार ले मातहत स्वास्थ्य संस्था बाट बर्ष मा एक चोटि नागरिक को उमेर समूह अनुसार सामान्य स्वास्थ्य जाच (स्केनिङ)गर्ने ब्यवस्था मिलाउने ।
४२. तिनै तहको सरकारले मातहत स्वास्थ्य संस्थामा आवश्यकता का आधार मा स्वास्थ्य सेवा प्रवाह , सेवाग्राही को गुनासो ,सेवामा समान पहुँच ,र गुणस्तरीयता बारेमा अनुगमन र आवश्यक निर्देशन गर्ने ब्यवस्था मिलाउने।
४३) विशेषज्ञता प्राप्त स्वास्थ्यकर्मी (चिकित्सक ,नर्स,पारामेडिक्स) योग्यताको आधारमा जिम्मेवारी र सेवा सुविधा उपलब्ध गराउने।
शुभेच्छुक
दिपक मुडभरी
अ हे व अधिकृत तह
चि वि रा प्र वीर अस्पताल
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 