स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन भन्दै उच्चस्तीय समिति गठन

काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी प्रविधिमैत्री र नागरिकमुखी बनाउन भन्दै अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेकी हुन् ।
उक्त समितिमा डा. सरोज शर्मा – महाशाखा प्रमुख, डा. भीमप्रसाद सापकोटा – महाशाखा प्रमुख, मित्रप्रसाद घिमिरे – उपसचिव, उशा तण्डुकार – बरिष्ठ औषधी व्यवस्थापक र सुरज प्रकाश अर्याल – शाखा प्रमुख रहेका छन् ।
सो समितिलाई चार बुँदे कार्यादेश दिइएको छ ।
मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार यो समितिले आगामी १५ दिन भित्र फ्रि हेल्थ पोर्टल निर्माण गरि लागू गर्नु पर्ने छ ।
यस्तै बिरामीको उपचार, रेकर्ड, रेफरल, पुन सेवा र क्लिनिकल फलोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणाली (प्यासेन्ट रेकर्ड सिस्टम)का लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास गर्न भनिएको छ ।यसका लागि तीन महिनाको अवधी दिईएको छ ।
यस्तै अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रबृत्ति नियन्त्रण गर्ने स्पष्ट रेफर प्रोटोकल प्रणाली लागू गर्ने समेत भनिएको छ ।
यसैगरी समितिले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरुको हाजिरी अनुगमन गर्न जीआईओएमएस अनिर्वाय लागू गर्ने गराउने जिम्मा पाएको छ ।
अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिन भित्र निर्माण गरी सञ्चालनमा ल्याउने र अनुगमन समेत गर्नुपर्ने समेत कार्यादेशमा भनिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 