पश्चिम एसिया युद्धको असर :

ग्यास र पेट्रोकेमिकल अभावले भारतका औषधी उद्योगमा देखिन थाल्यो संकट

प्यारासिटामोलसहित अत्यावश्यक औषधी उत्पादन प्रभावित हुने चेतावनी
72
Shares

नयाँ दिल्ली पश्चिम एशियामा जारी द्वन्द्वका कारण एलपीजी र पेट्रो-केमिकल आपूर्तिमा लगाइएको नियन्त्रणले भारतको औषधि तथा मेडिकल उपकरण उद्योगमा गम्भीर असर देखिन थालेको छ।

भारतीय सञ्चारमाध्यमहरुले त्यहाँको युद्धको असरले औषधी उत्पादनका क्षेत्रमा गम्भीर संकट पैदा गर्न थालेको उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले भनेको छ, ‘जारी द्वन्द्वका कारण एलपीजी र पेट्रो-केमिकल आपूर्तिमा लगाइएको नियन्त्रणको प्रभाव सामान्य रूपमा प्रयोग हुने ज्वरोको औषधि प्यारासिटामोलसहित ग्लोभ्स, सिरिन्ज जस्ता स्वास्थ्य सामग्रीको उत्पादनमा पर्ने उद्योगले चेतावनी दिएको छ।’

औषधी उद्योगसँग सम्बन्धित संस्थाहरू इन्डियन फर्मास्युटिकल एसोसिएसन, इन्डियन ड्रग म्यानुफेक्चरिङ एसोसिएसन र फेडरेसन अफ फर्मा इन्टरप्रेनर्सले वाणिज्य मन्त्रालय, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय तथा रसायन तथा मल मन्त्रालयअन्तर्गतको औषधी विभागलाई पत्र पठाउँदै औषधि उद्योगलाई एलपीजी तथा पीएनजी आपूर्तिमा कुनै अवरोध नगर्न आग्रह गरेका छन्।

उद्योगहरूले महामारीका बेला जस्तै औषधि उत्पादनलाई अत्यावश्यक सेवा घोषणा गर्दै ग्यास आपूर्तिमा विशेष छुट दिन सरकारसँग माग गरेका छन्।

औषधी उत्पादनमा ग्यास किन महत्वपूर्ण ?

उद्योग विज्ञका अनुसार एलपीजी औषधी उत्पादनका धेरै महत्वपूर्ण प्रक्रियामा प्रयोग हुन्छ। बायलर सञ्चालन, ग्रानुलेसन (ट्याब्लेट बनाउन प्रयोग हुने प्रक्रिया), स्टेरिलाइजेसन (जीवाणुमुक्त बनाउने प्रक्रिया) लगायतका काममा ग्यास अत्यावश्यक हुन्छ।

विशेषगरी साना तथा मझौला उद्योग पूर्ण रूपमा एलपीजी वा पीएनजीमा निर्भर छन्। ठूला कम्पनीहरूले केही प्रक्रियामा विद्युत् प्रयोग गर्न सक्ने भए पनि अधिकांश उत्पादन प्रणाली ग्यासमै आधारित छ।

उद्योग स्रोतका अनुसार धेरै कम्पनीसँग १५ देखि ३० दिनसम्मको कच्चा पदार्थको भण्डार मात्र हुन्छ भने ठूला कम्पनीहरूले तीनदेखि छ महिनासम्मको स्टक राखेका हुन्छन्। उत्पादन अवरुद्ध भए केही महिनाभित्रै बजारमा औषधिको अभाव देखिन सक्ने उनीहरूको अनुमान छ।

पेट्रोकेमिकल कटौतीले थप संकट

घरायसी ग्यास आपूर्ति बढाउन सरकारले केही पेट्रोकेमिकलको आपूर्ति घटाउने निर्णय गरेपछि औषधी उद्योगमा थप समस्या सिर्जना भएको अधिकारीहरुले बताएका छन् ।

विशेषगरी रिफाइनरी ग्रेड प्रोपिलिनको अभावले फार्मास्युटिकल ग्रेड आइसोप्रोपाइल अल्कोहल (आईपीए) उत्पादन प्रभावित भएको छ। आईपीए धेरै औषधीको कोटिङ तथा उत्पादन प्रक्रियामा प्रयोग हुने महत्वपूर्ण पदार्थ हो।

भारतको रिलायन्स इन्डस्ट्रीजको जामनगर रिफाइनरीले सरकारी आदेश कार्यान्वयन गर्दै प्रोपिलिन आपूर्ति घटाइसकेको छ, जसका कारण अधिकांश आईपीए उत्पादक उद्योग प्रभावित भएका छन्। साथै सिंगापुरको एक कम्पनीले प्रोपिलिन आपूर्तिमा फोर्स मेजर घोषणा गरेपछि विदेशबाट आयात गर्ने सम्भावना पनि कम भएको बताइएको छ ।

१० दिनभित्र २०० उद्योग बन्द हुने जोखिम

सेन्टर फर डोमेस्टिक इकोनोमी फोलिसी रिसर्च (सीडीईपी)ले औषधी विभागलाई पठाएको प्रतिवेदनमा कच्चा पदार्थको भण्डार सकिएपछि करिब २०० उद्योगले आगामी ७ देखि १० दिनभित्र उत्पादन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

सीडीईपीका अध्यक्ष जयजीत भट्टाचार्यका अनुसार फार्मास्युटिकल ग्रेड आइपीए विदेशबाट आयात गर्दा प्रदूषण हुने जोखिम उच्च भएकाले आयात व्यावहारिक विकल्प होइन।

उनका अनुसार आइपीए उत्पादनका लागि आवश्यक प्रोपिलिन अन्यत्र मोड्दा राष्ट्रिय एलपीजी मागमा केवल ०.३६ प्रतिशत मात्र वृद्धि हुन्छ। तर यसले आइपीए उद्योग पूर्ण रूपमा बन्द हुने र कम्तीमा १४ प्रकारका अत्यावश्यक औषधिको उत्पादनमा अवरोध आउने खतरा बढाउँछ।

प्यारासिटामोल उत्पादनमा पनि असर

सीडीईपी ले पेट्रोकेमिकल पदार्थ बेन्जिनको आपूर्ति प्रभावित हुँदा त्यसबाट बन्ने अन्य कच्चा पदार्थको उत्पादन पनि घट्ने चेतावनी दिएको छ। यसले धेरै एक्टिभ फार्मास्युटिकल इन्ग्रेडियन्ट (एपीआई) को उत्पादनमा असर पार्नेछ, जसमा ज्वरोको सामान्य औषधि प्यारासिटामोल पनि समावेश छ।

उद्योग विश्लेषकका अनुसार ग्यास तथा पेट्रोकेमिकल आपूर्ति समस्या समाधान नभए केही महिनाभित्र औषधी बजारमा आपूर्ति संकट देखिन सक्ने सम्भावना बढ्दै गएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *