युकेमा मृत दाताको गर्भाशय प्रत्यारोपण गरी शिशुको जन्म

प्रजनन् चिकित्सामा ऐतिहासिक उपलब्धि भएको दावी
12
Shares

एजेन्सी । युकेमा पहिलो पटक मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी एक शिशुको जन्म भएको छ । यसअघि गर्भाशय प्रत्यारोपण प्रायः जीवित दाताबाट विशेषगरी आमाबुबा वा दिदीबहिनी जस्ता नजिकका नातेदारबाट गरिँदै आएको थियो।

विज्ञहरुले पछिल्लो उपलब्धिलाई प्रजनन् चिकित्साको क्षेत्रमा महत्वपूर्ण वैज्ञानिक सफलता भनेका छन् ।  मृत दाताबाट गरिएको यो सफल प्रत्यारोपणले जन्मजात गर्भाशय नभएका वा कार्यक्षम नभएका महिलाहरूका लागि नयाँ आशा जगाएको छ।

शिशुको तौल ३.०९ किलोग्राम तौलका स्वस्थ बालकको जन्म क्वीन चारलोट्स एण्ड चेल्सी हस्पिटलमा भएको हो । यो बेलायतमा पहिलो तथा युरोपमा तेस्रो यस्तो घटना हो।

शिशुकी आमा ३० वर्षीया ग्रेस बेल जन्मजात ‘मेयर रोकीटान्स्की कुस्टर हाउजर सिन्ड्रोम’बाट प्रभावित थिइन्। यो दुर्लभ अवस्था करिब ५,००० महिलामध्ये एकजनामा देखिन्छ ।  जसमा गर्भाशय र योनिको पूर्ण विकास हुँदैन वा अनुपस्थित हुन्छ। यद्यपि, उनको डिम्बाशय (ओभरी) भने सामान्य अवस्थामा थियो।

गर्भाशय प्रत्यारोपण भनेको के हो ?

गर्भाशय प्रत्यारोपण प्रजनन चिकित्साको सबैभन्दा जटिल शल्यक्रियामध्ये एक हो। यो प्रक्रिया ती महिलाहरूका लागि विकास गरिएको हो, जसले गर्भाशय नभएकै कारण वा गर्भाशयले सही रूपमा काम नगरेकाले गर्भ धारण गर्न सक्दैनन्।

भारतमा पनि जीवित दाताबाट गर्भाशय प्रत्यारोपणका सफल प्रयास भइसकेका छन्। तर यो प्रक्रिया अझै व्यापक रूपमा प्रयोगमा आइसकेको छैन। शल्यक्रियाको जटिलता, सम्भावित चिकित्सकीय जोखिम, नैतिक पक्ष र उच्च लागत हुने भएका कारण यसले सफलता नभएको त्यहाँका चिकित्सकहरु बताउँछन् ।

कानुनी र नैतिक पक्ष
नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नीलम सूरीका अनुसार, भारतमा अंग तथा तन्तु प्रत्यारोपण ‘ट्रान्सप्लान्टेसन अफ ह्युमन अर्गान्स एन्ड टिश्युज ऐन’ अन्तर्गत कडाइका साथ नियमन गरिन्छ। विशेषगरी दाता नजिकको नातेदार नभएको अवस्थामा सहमति, प्रत्यारोपण समितिको स्वीकृति, आवश्यक कागजात र नैतिक सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्छ।

डा. सूरी भन्छिन्, “पहिला विश्वभरका धेरैजसो प्रत्यारोपण जीवित दाताबाट आमा वा दिदीबहिनी जस्ता नजिकका नातेदारबाट गरिन्थे। भारतमा पनि जीवित दाताबाट सफल प्रत्यारोपण भइसकेका छन्। अहिले मृत दाताबाट प्रत्यारोपण पनि चिकित्सकीय रूपमा सम्भव देखिएको छ। तर यसका लागि कानुनी र नैतिक प्रक्रिया कडाइका साथ पालना गर्नुपर्छ।”

नयाँ आशाको ढोका
मृत दाताबाट सफल गर्भाशय प्रत्यारोपणपछि भएको यो जन्मले प्रजनन स्वास्थ्य क्षेत्रमा नयाँ युगको संकेत गरेको छ। विशेषगरी जन्मजात गर्भाशय नभएका महिलाहरूका लागि यो ठूलो उपलब्धि मानिएको छ। विशेषज्ञहरूका अनुसार भविष्यमा प्रविधि अझ परिष्कृत हुँदै गएमा यस्तो उपचार थप सुरक्षित, सुलभ र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *