काठमाडौँमा चारवटा डेन्टल क्लिनिकमा अनुगमन, दुई वटालाई सिल गर्न सिफारिस

52
Shares

काठमाडौँ, २९ माघ । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित चार डेन्टल क्लिनिकमा स्थलगत अनुगमन गर्दा गम्भीर अनियमितता फेला पारेको जनाएको छ।

आज बिहान १० बजेदेखि गरिएको अनुगमनमा काउन्सिलका सदस्यहरु डा. अजय कुमार शाह र डा. अस्मिता पोखरेल तथा विज्ञको रुपमा सहभागी डेन्टल डाक्टरहरु डा. भुमेश काफ्ले र डा. हरि वली तथा काउन्सिलका कर्मचारी रमिला मानन्धरको टोली सहभागी थियो । टोलीले पुजा डेन्टल क्लिनिक, नाईस स्माईल डेन्टल, नागेश्वर डेन्टल होम र आरुबारी डेन्टल क्लिनिकमा निरीक्षण गरेको थियो।

सो क्रममा पुजा डेन्टल क्लिनिक र नाईस स्माईल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको, सम्बन्धित निकायमा विधिवत दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको पाइएको थियो । यस्तै उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्स–रे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको समेत भेटिएको काउन्सिलले जनाएको छ।

त्यसैगरी आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित डाक्टरसँग औपचारिक सम्झौता पत्र नभएको पाइएको छ भने नागेश्वर डेन्टल होम मा फुल–टाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।

अनुगमन पछि काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना गरेको निष्कर्ष निकालेको छ।

यस्तै काउन्सिलले नाईस स्माईल डेन्टल केयर प्रालि र पुजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ र आवश्यक कार्वाहीको लागि काठमाडौं महानगरपालिकामा पत्राचार गरेको छ ।

काउन्सिलले आगामी दिनमा पनि डेन्टल क्लिनिकको अनुगमनलाई निरन्तरता दिने अनुगमनमा सहभागी डा. भुमेश काफ्लेले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *