५६ जिल्लाका ४९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

काठमाडौंँ, २८ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ ।
सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ।
खोप अभियान यही माघ २५ गतेदेखि सञ्चालन भएपछि हिमाली र पहाडी क्षेत्रमा जिल्लामा चिसो तथा हिमपात पर्ने भएकाले चैतमा खोप अभियान सञ्चालन हुने छ ।
त्यस्तै, कोशीका ९ जिल्लामा ८८ स्थानीय तह, मधेसका ८ जिल्लामा ८५ स्थानीय तह, बागमतीमा १० जिल्लामा ९४ स्थानीय तह, गण्डकीका लुम्बिनीका ११ जिल्लाका ९५ स्थानीय तह, कर्णालीका पाँच जिल्लाका ३१ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा आठ जिल्लाका ७० स्थानीय तहमा सुरु गरिएको छ ।
सरकारले कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका तथा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पाठेघरको क्यान्सरबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ ।
खोप अभियानका क्रममा २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने शाखाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 