अघिल्लो बर्ष धुमधामसंग सुरु भएको ‘नसर्ने रोगको स्क्रिनिङ’ अभियान यस बर्ष गुमनाम !

60
Shares

 

गतवर्ष काभ्रेमा भएको नसर्ने रोग स्क्रिनिङ अभियान

काठमाडौँ, ९ माघ । सरकारले गतवर्ष देखि फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ अभियानको मनाउने निर्णय गरेको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सो अभियानमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्वन्धी रोग, शरीरको उचाई र तौलको अनुपात आदि) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ बमोजिम प्रत्येक वर्ष फागुन महिनामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान सञ्चालन गर्ने निर्णय गराएका थिए ।

सोही अनुसार गतवर्ष (पहिलो वर्ष) यो कार्यक्रम धूमधामसंग शुभारम्भ भयो । तर अभियान सुरु भएको एक वर्ष नपुग्दै यो कार्यक्रम गुमनाम उन्मुख भएको छ ।

फागुन महिनामा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने भएकोले स्वास्थ्य मन्त्रालयले माघ महिनामै यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । तर स्वास्थ्यकै अधिकारीहरुलाई यसबारेमा औपचारिक रुपमा थाहा छैन ।

माघ महिनामा नसर्ने रोगको स्क्रिनिङ गर्ने भन्दै स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ६ माघका दिन गाउँपालिका (सबै) र नगरपालिका (सबै)का नाममा सूचना जारी गरेपछि यो विषय सतहमा आएको हो ।

माघ महिना भर स्क्रिनिङ कार्यक्रम गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले समयमै आफ्नो प्रमुख सरोकारवाला निकायसंग समन्वय नगरेको जस्तो देखिएको छ ।

नसर्ने रोग हेर्ने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख पोमावती थापा सामान्यको सूचना पछि आफूहरु यसबारेमा थप काम गर्न जुटेको बताईन । ‘हामीलाई औपचारिक जानकारी त अझै पनि आएको छैन तर सामान्यको सूचना आएपछि हामीले यहि महिना कार्यक्रम गर्ने कुरा भएको रहेछ भनेर थाहा पायौँ । अब त्यसका लागि आवश्यक समन्वय गर्नेछौँ,’ उनले कार्यक्रमका लागि स्थानीय तहमा आवश्यक स्रोत पठाइसकेको जानकारी दिईन ।

उता कोशीका स्वास्थ्य सचिव डा यदुचन्द्र घिमिरेले माघ महिनामै यो कार्यक्रम गर्ने भन्ने विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । ‘पहिले कुरा त भएको थियो, तर त्यसले मिति तय गरेको जस्तो लागेको थिएन । हिजो आज निर्णय भयो रे भन्ने अनौपचारिक रुपमा कुरा सुन्दैछौँ ।’

अभियान सुरु गर्ने महिनाको पहिलो साता वितिसक्दा प्रमुख सरोकारवाला नै बेखबर हुने अवस्था आउँदा यो कार्यक्रमले यसपटक प्राथमिकता नपाएको प्रश्ट देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले पुस २८ मै गरेको थियो पत्राचार
स्वास्थ्यका प्रमुख सरोकारवाला निकाय नै बेखवर भएको भनिएको यो कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले २८ पुसमा नै नसर्ने रोगहरुको स्क्रिनिङ अभियान सञ्चालन सम्वन्धमा भन्दै सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले पठाएको पत्रमा फागुनमा प्रतिनिधि सभाको निर्वाचन भएको कारण सो अभियान माघ महिनामै गर्ने भनेर स्वास्थ्यको विषयगत समितिको ९ पुसमा बसेको बैठकले निर्णय भएको उल्लेख छ ।

तर मन्त्रालयले सो जानकारी आफ्नो वेवसाइटमा अझै राख्न भ्याएको छैन । मन्त्रालयको भाइवर ग्रुपमा भने गत बुधबार मात्रै अपलोड गरिएको छ । त्यसैले पनि सरोकारवाला पक्ष अलमलमा परेको हुनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *