विश्व स्वास्थ्य संगठनबाट औपचारिक रुपमा बाहिरिदै अमेरिका

लण्डन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनको सदस्यता औपचारिक रुपमै त्याग्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्वन्ध डब्लुएचओ नेतृत्वसंग अघिल्लो कार्याकालका बेला नै बिग्रिएको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विहीबार देखि लागू हुने गरी अमेरिका डब्लुएचओबाट बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन् ।
यता अमेरिकाको यस्तो निर्णय आउने वित्तिकै स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने अमेरिकी स्वास्थ्य प्रणालीको मात्रै नभई विश्वव्यापी स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
त्यसो त अमेरिकाले डब्लुएचओलाई लाई तिर्नुपर्ने करिब २६ करोड अमेरिकी डलर शुल्क नतिरी संगठन छाड्न लाग्नु अमेरिकी कानुनको उल्लङ्घन भएको आरोप पनि लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्नो कार्यकालको पहिलो दिन नै कार्यकारी आदेशमार्फत अमेरिका डब्लुएचओबाट बाहिरिने सूचना दिएका थिए। अमेरिकी कानुनअनुसार, यस्तो बहिर्गमनका लागि एक वर्षअगाडि सूचना दिनुका साथै बाँकी सबै शुल्क तिर्नुपर्ने प्रावधान छ।
पछिल्लो एक वर्षयता विश्वभरका स्वास्थ्य विज्ञहरूले यस निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए । हालै मात्रै डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले पनि अमेरिका संगठनमा पुनः फर्किने आशा व्यक्त गरेका थिए।
‘म अमेरिकालाई आफ्नो निर्णयमा पुनर्विचार गरी डब्लुएचओमा फर्कियोस् भन्ने आशा गर्छु, किनभने डब्लुएचओबाट बाहिरिनु अमेरिका र बाँकी विश्व दुवैका लागि घाटाको विषय हो,’ उनले यस महिनाको सुरुमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।
डब्लुएचओका अनुसार अमेरिकाले सन् २०२४ र २०२५ का लागि तिर्नुपर्ने शुल्क अहिलेसम्म भुक्तानी गरेको छैन।
फेब्रुअरीमा बस्ने डब्लुएचओ को कार्यकारी बोर्ड बैठकमा अमेरिकी बहिर्गमन र त्यसको व्यवस्थापनबारे छलफल हुने डब्लुएचओका प्रवक्ताले इमेलमार्फत जानकारी दिएका छन्।
यता अमेरिकी विदेश मन्त्रालयले भने शुल्क नतिरी अमेरिका बाहिरिन सक्छ कि सक्दैन भन्ने विषयमा तथा यसले विश्वव्यापी सहकार्यमा पार्ने असरबारे उठाइएका प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन।
जर्जटाउन विश्वविद्यालयस्थित ओ’निल इन्स्टिच्युट फर ग्लोबल हेल्थ ल का संस्थापक निर्देशक तथा डब्लुएचओका निकट पर्यवेक्षक लरेन्स गोस्टिनले यस कदमलाई ‘अमेरिकी कानुनको स्पष्ट उल्लङ्घन’ भनेका छन्। यद्यपि, ट्रम्प यस विषयमा सजिलै उम्कन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
दाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा बोल्दै बिल गेट्सले निकट भविष्यमा अमेरिका डब्लुएचओमा फर्किने सम्भावना कम रहेको बताए। गेट्स फाउन्डेसनका अध्यक्षसमेत रहेका गेट्स विश्व स्वास्थ्य पहल तथा डब्लुएचओका केही कार्यक्रमका प्रमुख दाता हुन्।
‘मलाई लाग्दैन कि अमेरिका छिट्टै डब्लुएचओमा फर्किन्छ,’ उनले भने। ‘तर अवसर पाएमा म यसका लागि वकालत गर्नेछु। किनभने अहिले विश्वलाई विश्व स्वास्थ्य संगठनको आवश्यकता छ।’
बजेट संकटमा डब्लुएचओ
अमेरिकाको बहिर्गमनको घोषणाले डब्लुएचओलाई गम्भीर बजेट संकटमा धकेलेको छ । संकटका कारण बताउँदै संगठनले आफ्नो व्यवस्थापन टोली आधा घटाइसकेको छ भने विभिन्न कार्यक्रम तथा कामहरूमा बजेट कटौती गरिएको छ।
हुन पनि अमेरिका परम्परागत रूपमा डब्लुएचओको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो, जसले संस्थाको कुल बजेटको करिब १८ प्रतिशत योगदान दिँदै आएको थियो।
डब्लुएचओले यस वर्षको मध्यसम्म करिब २५ प्रतिशत कर्मचारी कटौती गर्ने जनाएको छ। पछिल्लो एक वर्षमा अमेरिका र डब्लुएचओबीच सूचना आदान–प्रदान तथा सहकार्य जारी रहे पनि अब भविष्यमा यस्तो सहकार्य कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल रहेको छ।
विश्व स्वास्थ्य विज्ञहरूले यस अवस्थाले अमेरिका, डब्लुएचओ तथा समग्र विश्व स्वास्थ्य सुरक्षामा जोखिम बढाउने चेतावनी दिएका छन्।
ब्लुमबर्ग फिलान्थ्रोपीजकी सार्वजनिक स्वास्थ्य कार्यक्रम प्रमुख केली हेनिङले भनिन्, ‘अमेरिकाको डब्लुएचओबाट बहिर्गमनले विश्वले स्वास्थ्य खतराहरू पहिचान, रोकथाम र प्रतिक्रिया दिन प्रयोग गर्दै आएका प्रणाली तथा सहकार्यलाई कमजोर बनाउन सक्छ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 