‘समुदायका हरेक क्षयरोगीको पहिचान र सफल उपचारमार्फत क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्छ’

काठमाडौँ, ७ माघ । स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले समुदायका हरेक क्षयरोगीको पहिचान र सफल उपचारमार्फत क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिएकी छन् ।
ललितपुरमा हिजो देखि सुरु भएको राष्ट्रिय क्षयरोग कार्यक्रमको बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
सो क्रममा मन्त्री डा शर्माले निर्माणको चरणमा रहेको नयाँ राष्ट्रिय क्षयरोग रणनीति (२०२६/२७ -२०३०/३१) मा प्रभावकारी रुपमा कार्यान्वयनको कार्ययोजना ल्याउन र उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न मार्गदर्शन समेत दिएकी छन् ।

क्षयरोग अन्त्यको राष्ट्रिय रणनीति योजना २०२१/२२- २०२५/२६ तय गरेका लक्ष्य प्राप्तिका लागि स्थानीय तह, प्रदेश तथा संघमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरु तथा समाधानका उपायहरुको पहिचान गर्दै आगामी बर्षहरुमा कार्यान्वयन गर्ने मुख्य उदेश्यका साथ आयोजित समीक्षा गोष्ठीमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस गोष्ठीले कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरू पहिचान गरी आगामी वर्षका लागि ठोस समाधानका उपायहरू तय गर्ने उद्देश्य राखेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 