डा. यशोदा रिजाललाई दुई महिना निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरकालिन आदेश

48
Shares

काठमाडौँ, ६ माघ । उपचार सम्वन्धी गलत कागजात पेश गरेर दोषी उम्काउन भूमिका खेलेको भन्दै जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएपछि नेपाल मेडिकल काउन्सिलको २४ पुसमा बसेको बोर्ड बैठकले डा यशोदा रिजाललाई दुई महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, उच्च अदालत पाटनले निलम्बन सम्वन्धी सो निर्णय तत्काल कार्यान्वयन नगर्न काउन्सिलका लागि अन्तरकालीन आदेश जारी गरेको छ ।

जिल्ला अदालतबाट भएको फैसला उपर पुनरावेदन गर्ने अवधी बाँकी रहेको र सोही कसुरमा काउन्सिलले निलम्बन गरेको भन्दै सो निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरि पाउँदै डा रिजालको तर्फबाट दिवाकर रिजालले गत आइतबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सोही रिटमा आज सुनुवाई गर्दै न्यायाधीशद्धय ऋषि राजभण्डारी र दीपक खनालको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,  ‘निवेदक समेतले झुट्टा प्रमाण बनाउको सम्वन्धी कसुरमा सुरु जिल्ला अदालतबाट भएको फैसला उपर पुनरावेदन गर्ने अवधी बाँकी रहेको अवधी भित्रै सोही कसुर गरेको भन्ने आधारमा यी निवेदकलाई आचार संहिता उल्लघन गरेको भनी २ महिना निलम्बन गर्ने गरी नेपाल मेडिकल काउन्सिलबाट निर्णय भएको देखियो । उल्लेखित मुद्धामा पुनरावेदन परी हाल बिचाराधिन रहेको हुँदा सोही मुद्धामा भएको फैसलालाई आधार मानी आचारसंहिता उल्लंघन गरेको भनि गरेको निलम्बनको कार्य हाल कार्यान्वयन नगर्नु, नगराउनु भनी मुलकी देवानी कार्यविधि संहिता २०७ को दफा १५६ बमोजिम विपक्षीको नाममा अन्तरकालीन आदेश गरिएको छ ।’

खास प्रकरण के हो ?

डा. रिजालको यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ । विसं २०७३ फागुनमा पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो । त्यही सम्बन्धको लाभ लिँदै दिवाकरले ४ जेठ २०७९ मा जबर्जस्ती करणी पीडितको आरोप छ ।

त्यसपछि ती पीडित महिलाले मुद्दा दायर गरेकी थिइन् । तर करणी गरेको भनिएको समयमा दिवाकरले आफू नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै अदालतमा कागजात पेस गरेका थिए ।

जाँचबुझका क्रममा चिकित्सकीय विवरण डा. यसोदा रिजालले बनाएको पाइएको थियो । उक्त विवरण अनुसार उच्च रक्तचापका कारण दिवाकार एक रात खरानीटार अस्पतालमा भर्ना भएका थिए ।

डा.  रिजाल खरानीटार अस्पतालको प्रमुख जिम्मेवारीमा थिइन् । भर्ना भएका दिवाकर डा. यशोदाका बुबा थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले २०८२ असार २३ मा फैसला गर्दै डा. यसोदा रिजाललाई एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा दिवाकरलाई सात वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको छ ।

फैसलामा डा. रिजालले अदालतलाई प्रभाव पार्ने उद्देश्यले झुटा चिकित्सकीय प्रमाण तयार गरेको ठहर गरेर एक महिना जेल र ५ हजार जरिवाना तोकेको थियो ।

त्यसपछि ६ साउन २०८२ मा महिलाले अदालतको फैसला पेस गर्दै डा. रिजालको लाइसेन्स खारेज गर्न ती पिडित काउन्सिलमा पुगेकी थिइन् । तर डा रिजाल भने अदालतमा मुद्दा चलिरहेको अवस्थामा मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएर अमेरिका लागिसकेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *