डा. भगवान कोइराला नेतृत्वमा बनेको कियोच-काठमाडौँ बाल अस्पतालमा ओपिडी सेवा सुरु

काठमाडौँ, १४ पुस । बरिष्ठ चिकित्सक प्राडा भगवान कोइराला नेतृत्वमा बनेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौँ बाल अस्पतालमा ओपीडी सेवा प्रारम्भ भएको छ ।
बुढानिलकण्ठ – ७ हेपालीहाइटमा बनेको कियोच-काठमाडौँ बाल अस्पतालमा आइतबार (हिजो)बाट ओपिडी सेवा प्रारम्भ भएको प्राडा कोइरालाले बताए ।
त्यसो त ओपिडी प्रारम्भ गर्नु अघि आइतबार र सोमबार (हिजो र आज)का लागि अस्पतालमा नै निशुल्क रुपमा बहु विशिष्टिकृत बाल स्वास्थ्य शिविर आयोजना हुने सूचना जारी गरेको थियो ।
सोही सूचना अनुसार हिजो र आज आएका सबै बालबालिकाको परीक्षण तथा उपचार निशुल्क हुने डा. कोइरालाले जानकारी दिए ।

उनले दुई – तीन हप्ता पछि इन्डोर सेवा सुरु गर्ने समेत जानकारी दिए ।
‘कियोचको काठमाडौँ बाल अस्पतालले पनि सेवा प्रारम्भ गरेको छ । प्रारम्भमा ५० देखि ६० बेड सञ्चालनमा आउँला र निकट भविस्यमा नै हामी १०० बेड सञ्चालन गर्छौ । त्यसका लागि हामी पूर्ण तयार भईसकेका छौँ । थप अर्को १०० बेडका लागि कामहरु भईरहेको छ । भवनका लागि केही कामहरु पनि हुँदैछ,’ उनले भने ।
कियोच अन्तर्गत यसअघि नै झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आई नै सकेको छ ।
प्राडा कोइराला नेतृत्वको समूह सातवटै प्रदेशमा कियोच अन्तर्गत बाल अस्पताल खोल्ने योजनाका साथ अघि बढेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

