जब अस्पतालको बेडमा उपचाररत बिरामी र उपचार गर्ने चिकित्सकबीच लात्ति मुक्का चल्यो….

240
Shares

भारत । हिमाञ्चल प्रदेशको शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) मा ब्रोंकोस्कोपी परीक्षणका लागि आएका ३६ वर्षीय एक बिरामीमाथि दुई जना डाक्टरले कुटपिट गरेको आरोप लागेको छ ।

सोमबार भएको यस घटनापछि बिरामीका आफन्तहरुले अस्पताल परिसरमा व्यापक विरोध प्रदर्शन गरेका छन् ।

घटना लगत्तै बिरामीका आफन्त तथा साथीहरू ठूलो संख्यामा आईजीएमसी परिसरमा भेला भई दोषी डाक्टरहरूलाई तुरुन्तै पक्राउ गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले कारबाही नभए अस्पतालभित्र अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

घटना के हो ?

कुटपिटमा परेका भनिएका बिरामी शिमला जिल्लाको कुप्वी क्षेत्रका बासिन्दा अर्जुन सिंह हुन्। उनी शिमलास्थित एक नामी बोर्डिङ स्कुलमा क्यान्टिन सञ्चालन गर्दै आएका छन्। सोमबारको घटनापछि सिंहले बरिष्ठ रेसिडेन्ट डाक्टर डाक्टर राघव नरुला सहित दुई जना डाक्टरविरुद्ध शारीरिक आक्रमण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।

यता आईजीएमसीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राहुल रावका अनुसार प्रारम्भिक छानबिनमा डा. राघव नरुला दोषी ठहरिएका छन्।

‘डा राघव नरुलालाई अर्को आदेश नआएसम्म निलम्बन गरिएको छ। कलेजका पल्मोनरी विभागका प्रमुख डा. माल्या सरकारको नेतृत्वमा गरिएको प्रारम्भिक छानबिनपछि यो निर्णय गरिएको हो,’ मेसु डा. राहुलले भने ।

घटना लगत्तै हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खु र स्वास्थ्य मन्त्री डा. धनी राम शान्धिलले घटनाबारे विस्तृत प्रतिवेदन माग गरेका छन्। कुटपिटमा परेका बिरामीले एफआईआर दर्ता गराइसकेका छन्।

कुटपिट घटनाको अनुसन्धान गरिरहेका सब–इन्स्पेक्टर दिलिप कुमारले बिरामी पक्षको उजुरी प्राप्त भएको पुष्टि गर्दै भने, ‘हामीले अनुसन्धान सुरु गरेका छौं। घटनाको परिस्थितिबारे छानबिन भइरहेको छ र आरोपित डाक्टरहरूको बयान लिइनेछ।’

उता, आरोपित डा. राघव नरुलाले भने आरोप अस्वीकार गरेका छन्। ‘मैले बिरामीमाथि कुटपिट गर्ने उद्देश्य राखेको थिइनँ। बिरामीले पहिला मसँग दुर्व्यवहार गरे। म आफ्नो कुरा प्रहरीसमक्ष राख्नेछु,’ उनले भने ।

कुटपिटमा परेका बिरामीका साथी विजयु पालका अनुसार अर्जुन सिंह (बिरामी) फोक्सोसम्बन्धी बिरामी हुन् र सोमबार पल्मोनरी मेडिसिन विभागमा ब्रोंकोस्कोपीका लागि आएका थिए। ‘हामी बिहान करिब ११ बजे अस्पताल पुगेका थियौं। उनलाई सास फेर्न गाह्रो भएपछि नर्सले आराम गर्न सल्लाह दिएकी थिइन् । त्यसपछि अर्जुन वार्डमा गएर एउटा बेडमा सुतेका थिए। त्यसपछि दुई जना डाक्टर आए र एक जनाले बिरामीसँग दुर्व्यवहार गरे। बिरामीले जवाफ दिएपछि दुवै डाक्टरले उनलाई आक्रमण गरे। एक जनाले खुट्टा समाते भने अर्काले अनुहारमा पटक–पटक मुक्का प्रहार गरे, जसका कारण उनी गम्भीर रूपमा घाइते भए र धेरै रगत बग्यो।’ उनले भने ।

घटनाले आईजीएमसी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थामा सुरक्षा र डाक्टर–बिरामी सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अहिले बिरामी र चिकित्सकबीच भएको लात्ति मुक्का प्रहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *