आफ्नो उम्मेद्धवारी खारेज गर्ने निर्णयमा पुनर्बिचार गर्न डा. अरुण शाहीद्धारा समिति समक्ष निवेदन, संगसंगै उठाए तीन प्रश्न ?

152
Shares


काठमाडौँ, ६ पुस । आफ्नो उम्मेद्धारी खारेज गर्ने निर्णयबारे पुनर्विचार गर्न डा. अरुण शाहीले नेपाल चिकित्सक संघ निर्वाचन समिति समक्ष निवेदन दर्ता गराएका छन् । सँगसँगै उनले आफ्नो उम्मेद्धारी खारेज निर्वाचन समिति समक्ष तीन प्रश्न तेर्स्याएका छन् ।

उम्मेद्धार दिने बेलाको वारेसनामा प्रक्रिया नमिलेको भन्दै संघको निर्वाचन समितिले शनिबार डा शाहीको उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदमा दिएको उम्मेद्धारी खारेज गर्ने निर्णय गरेको थियो । आइतबार संघको कार्यालय पुगी निर्वाचन समिति समक्ष पत्र दर्ता गरेपछि परिसरमै पत्रकार सम्मेलन गरेर डा शाहीले आफूमाथि अन्याय भएको बताए ।

उनले संघको निर्वाचन समितिको कार्यशैली र उपाध्यक्षमा उठेका आफ्ना प्रतिस्पर्धी डा सुवास भट्टराईको भूमिका शंकास्पद भएको भन्दै तीन प्रश्न उठाएका छन् ।

समिति समक्ष दर्ता गरेको निवेदनमा डा शाहीले उठाएका प्रश्नहरु यस्ता छन् :

१. नेपाल चिकित्सक संघको नियमावलीमा उल्लेख नभएको ‘नोटरी पब्लिक’ गराउने सूचना, ढिलोगरी जवाफ माग र हतारमा खारेजीको कारण भित्र कुनै रहस्य लुकेको छ कि ?

२.  नोटरी पब्लिक ऐन २०६३ अनुसार प्रमाणित गर्दा प्रक्रिया पूरा भएरनभएको छानविन र फैसला गर्ने अधिकार त्यस निर्वाचन समितिसँग छ वा सम्मानित अदालतसँग ?

३. संविधानप्रदत्त गोपनियता हक उल्लंघन हुनेगरी म अरुण शाहीसँग सम्बन्धित कागजात मेरो विपक्षी डा सुवास भट्टराईलाई हेर्न निर्वाचन समितिले किन दिएको हो ?

हुन पनि गत ३ पुसमा निर्वाचन समितिले पहिलो उम्मेद्धारी सार्वजनिक गर्दा योग्यता र कागजात नपुगेका नामहरुको उम्मेद्धारी स्वीकार नगरेको भनेको थियो । डा शाहीले निर्वाचन समितिले सम्पूर्ण योग्यता र कागजात पुरा गरेको भन्दै उम्मेद्धारी लिएर कुनै पक्षको आधारविहिन उजुरीका आधारमा खारेज गरिनु अन्यायपूर्ण कदम भएको बताएका छन् ।

उनले संघको निर्वाचनमा उम्मेद्धार बन्न संघको निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को (१)मा वारेसनामा मार्फत मनोनयन दर्ता गर्ने प्रावधान अनुसार आफूले २३ मंसिरमै डा विपिन पौडेलको नाममा वारेसनामा गरिदिएको बताएका छन् । मेडिकल अंकोलोजिष्ट डा शाहीले उम्मेद्धारी दर्ता गर्ने बेलामा आफू युकेको लण्डनमा भएको इस्मफ इम्युनो अंकोलोजी २०२५ मा सहभागी हुने तय भईसकेकोले डा पौडेललाई त्यसअघि नै वारेसनामा दिएको समेत स्पष्ट पारेका छन् ।

हेर्नुहोस डा शाहीले निर्वाचन समिति समक्ष दर्ता गराएको निवेदन र तेर्स्याएका तीन प्रश्न :

मिति : २०८२/०९/०६

श्री प्रमुख ज्यू,
निर्वाचन समिति, नेपाल मेडिकल एशोसिएसन ।

विषय : उम्मेदवारी खारेज पुनर्विचार सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल मेडिकल एशोसिएसनको आसन्न निर्वाचनमा म डा अरुण शाही उपाध्यक्ष (बागमती प्रदेश संयोजक)मा वारेसनामा मार्फत् उम्मेदवारी दिएको र सो उम्मेदवारी त्यस निर्वाचन समितिले स्वीकार समेत गरेको पहिलो उम्मेदवारी नामावली प्रकाशनको सूचना २०८२/०९/०३ गते सार्वजनिक सूचनाबाट प्रस्ट नै छ । जबकी उम्मेदवारका लागि आवश्यक योग्यता र कागजात नपुगेका केही नामहरुको उम्मेदवारी नै स्वीकार नभएको उक्त सूचनाले नै प्रमाणित गर्दछ। निर्वाचन समितिले सम्पूर्ण योग्यता र कागजात पूरा गरेको भन्दै उम्मेदवारी लिएर कुनै पक्षको आधारविहिन उजुरीका आधारमा खारेज गरिनु अन्यायपूर्ण कदम भएको हाम्रो ठहर छ।

नेपाल चिकित्सक संघ निर्वाचन समितिले २०८१ /०६/२० गते निर्वाचन कार्यतालिका सार्वजनि गरेको थियो। कार्यतालिका अनुसार २०८२/०९/०२ गते उम्मेदवारी मनोनयन गर्ने तोकिएको थियो। उम्मेदवारी मनोनयन गर्ने उक्त मितिमा म लन्डन, युनाइटेड किङडममा हुन गइरहेको ‘ईस्मफ इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुने तय भइसकेको थियो। मिति २०८२ /०८/२३ गते नेपालबाट जाने र २०८२/०९/०३ मात्रै फर्किने तय भएको थियो। त्यसैले नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवार बन्न नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को (१) मा वारेसनामा मार्फत् मनोनयन दर्ता गर्ने प्रावधान अनुसार मैले २०८२/०८/२३ मा डा विपिन पौडेलका नाममा उक्त प्रयोजनका लागि वारेसनामा गरिदिएको थिएँ।

परिच्छेद ४ मा भनिएको छ, ‘परिच्छेद ४ को (१) मा भनिएको छ, ‘उम्मेदवारको मनोनयन, मतदाताको योग्यता र मतदाता नामावली १. निर्वाचन समितिको निर्वाचन कार्यक्रम अर्न्तगत नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन, संघको शाखा कार्यालयका कार्यकारिणी समितिको निर्वाचन र नेपाल चिकित्सक संघ परिषद्को निर्वाचनमा उम्मेदवार हुन नेपाल चिकित्सक संघको आजीवन नेपाली सदस्य स्वयंले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकमार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयभित्र निर्वाचन समितिको कार्यालयमा तोकिए बमोजिमको ढाँचामा मनोनयन पत्र दर्ता गर्न वा गराउनुपर्नेछ।

यसरी मनोनयन पत्र दर्ता गराउँदा एक व्यक्तिले १ पदमा मात्र मनोनयन पत्र दर्ता गर्न गराउन सक्नेछ।’

यहाँ कहीँकतै पनि वारेसनामा नोटरीबाट प्रमाणित गर्नुपर्ने नियम रहेको देखिदैन। तर, २०८२/०८/२८ गते निर्वाचन समितिले एक्कासी नोटरी पब्लिकले प्रमाणित गरेको वारेसनामा ल्याउनुपर्ने सूचना जारी गर्‍यो। उक्त सूचना अनुसार पहिले दिइएको वारेसनामालाई नै मेरो वारेस डा विपिन पौडेलले नोटरी प्रमाणित गरी मनोनयन दर्ता गराएको हो। सक्कल वारेसनामा सहित वारेस उपस्थित रहेको र वारेस दिनेको मञ्जुरी रहेको प्रमाणित भएपछि मात्रै नोटरी पब्लिकको कार्यालयले नोटरी गरिदिएको हो।

तर, नोटरी गर्दा वारेसनामा दिने व्यक्ति देश बाहिर रहेको विषयमा मेरो प्रतिपक्ष उम्मेदवारले उजुरी दिएको पाइन्छ । जबकी वारेसनामा गर्दा म स्वयंले गरेको र नोटरीले त्यो कागजात सक्कल रहेको प्रमाणित गरेको हो । जुन विषयमा निर्वाचनमा उम्मेदवारका लागि उठ्नु पर्ने नै होइन । यदि नोटरी पब्लिक ऐन २०६३ को विपरित नोटरी गरिएको विषय उम्मेदवारको नभइ नोटरी पब्लिक कार्यालयको जवाफदेहिता विषय रहेको सामान्य दृष्टिबाट बुझिन्छ ।

मेराबिरुद्ध दाबी विरोध २०८२/०९/०४ गते दिउसो १ बजे नै परेपनि अर्को दिन २०८२/०९/०५ गते बिहान ११:११ बजे मात्रै मेरो वारेस डा विपिन पौडेललाई दिउसो २:०० बजेसम्म जवाफ दिनुपर्ने बताइनु र एकपल्ट उम्मेदवारसँग छलफल समेत नगरी उम्मेदवारी खारेज गर्ने त्यस निर्वाचन समितिले निर्णय गरेको छ।

यसले निम्न प्रश्नहरु उठाएको छ :
१. नेपाल चिकित्सक संघको नियमावलीमा उल्लेख नभएको ‘नोटरी पब्लिक’ गराउने सूचना, ढिलोगरी जवाफ माग र हतारमा खारेजीको कारण भित्र कुनै रहस्य लुकेको छ कि?

२. नोटरी पब्लिक ऐन २०६३ अनुसार प्रमाणित गर्दा प्रक्रिया पूरा भए/नभएको छानविन र फैसला गर्ने अधिकार त्यस निर्वाचन समितिसँग छ वा सम्मानित अदालतसँग ?

३. संविधानप्रदत्त गोपनियता हक उल्लंघन हुनेगरी म अरुण शाहीसँग सम्बन्धित कागजात मेरो विपक्षी डा सुवास भट्टराईलाई हेर्न निर्वाचन समितिले किन दिएको हो ?

अन्त्यमा, नेपाल चिकित्सक संघको मूलमन्त्र एकता, भातृत्व र सेवालाई निर्वाचनको समयमा पनि कायम राख्न त्यस निर्वाचन समितिले सघाउनेछ, आफू आवद्ध संस्थामा उम्मेदवार बन्न पाउने एक नेपाली नागरिकको संविधान प्रदत्त हक नखोसेर उम्मेदवारी खारेजीको निर्णय पुनर्विचार गरिनेछ भन्ने अपेक्षा सहित निवेदन पेश गरेको छु।

– डा. अरुण शाही
उपाध्यक्ष (बागमती प्रदेश संयोजक)
नेपाल मेडिकल एशोसिएसन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *