नर्स तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका माग सम्वोधन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ, २९ मंसिर । नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाहरु सम्बन्धी मागको सम्बोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले आज स्वास्थ्य मन्त्री डा सुधा गौतमलाई प्रतिवेदन बुझाएको हो।
निजी तथा सामुदायिक अस्पताल एवं संस्थाहरुमा कार्यरत नर्सिङ्गरस्वास्थ्यकर्मीहरुको मर्यादित श्रम तथा सुविधाका सम्बन्धमा सरकारी सरह न्यूनतम तलब भत्ता प्रदान गर्न पटक पटक भएका निर्देशन, परिपत्रहरुको हालसम्म कार्यान्वयन नभएकाले यथाशिघ्र कार्यान्वयन गर्न सहमति कायम गर्ने प्रतिवेदनको उद्देश्य छ।
यस किसिमको समस्याहरु बारम्बार आइरहेको परिप्रेक्ष्यमा दीर्घकालीन रुपमा समस्याको समाधान गर्न सरकार र सम्बन्धित मन्त्रालयहरुले गर्नुपर्ने कार्यको लागि समेत राय सुझाव र कार्य योजना प्रतिवेदन पेश गर्ने विषयमा उल्लेख गरिएका छन्।
निजी मेडिकल कलेज, डेन्टल कलेज तथा अस्पतालहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा, सहज व्यावसायिक वातावरणका सम्बन्धमा पनि प्रतिवेदनमा उल्लेख गरिएका छन्।
न्युनतम पारिश्रमिक सरकारी सरह नै हुनु पर्ने माग राख्दै गत भदौको अन्तिम साताबाट नर्सहरु आन्दोलनमा उत्रिएका थिए । पोखराको मणिपाल मेडिकल कलेजबाट चर्किएको आन्दोलनले पछि देशव्यापी रुप लिएको थियो । त्यस लगत्तै सरकारले उनीहरुको माग सम्वोधन गर्नका लागि डा श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा सुजनबाबु मरहठ्ठा, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा पदम खड्का, मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा चन्द्रकला शर्मा, आन्दोलनरत नर्स स्वास्थ्यकर्मीहरुको प्रतिनिधिको रुपमा ज्योति रानाभाट सदस्य थिए ।
यस्तै नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा सरला केसी, मन्त्रालयका गुनासो सुनुवाई इकार्य प्रमुख डा अनुप बास्तोला, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सुरक्षासेवा महाशाखा निर्देशक हिराकुमारी निरौला, गृहमन्त्रालयका उपसचिव विश्वामित्र कुईकेल, अर्थ मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मी मरासिनी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि रमा खतिवडा सदस्य रहेका थिए । यसैगरी नेपाल चिकित्सक संघका तर्फबाट महासचिव डा सञ्जीव तिवारी, नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनका तर्फबाट अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल्स एसोसिएसनको तर्फबाट अध्यक्ष ललितमोहन पन्त, नेपाल पब्लिक हेल्थ एसोसिएसनका तर्फबाट कावा अध्यक्ष तेजप्रसाद दुलाल सदस्य रहेका थिए ।
यस्तै नेपाल रेडियोलोजीकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झा, मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का र हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी पनि उक्त कार्यदलमा समेटिएका थिए ।
मन्त्रालयका चिकित्सा शिक्षा सेवा तथा अनुसन्धान शाखाकी डा सुनिता लम्साल कार्यदलको सदस्यसचिव रहेकी छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

