बीएम फाउण्डेशनद्वारा टोखा नगरपालिकामा निःशुल्क पाठेघरको जाँच शिविर सम्पन्न

काठमाडौँ । बीएम फाउण्डेशनले काठमाठौँको टोखा नगरपालिका वडा नम्बर १को झोरमा निःशुल्क पाठेघरको जाँच शिविर सम्पन्न गरेको छ । फाउण्डेशनले कान्तिपुर जनरल अस्पतालसँगको प्राविधिक सहयोगमा शनिबार उक्त शिविर सम्पन्न गरेको हो ।
शिविर कोओर्डिनेटर तथा केडीसी जनरल अस्पतालकी नर्सिङ सुपरभाइजर मन्दिरा तिमल्सिनाले ८० जनाभन्दा बढी महिला निःशुल्क पाठेघर जाँचको लागि उपस्थित भएको बताएकी छन् । जसमध्ये करिब १२ जनाको पाठेघरको मुखको जाँच पनि गरिएको छ । उनीहरुमा सर्भिकल क्यान्सर छ या छैन भन्ने पत्ता लगाउनको लागि प्याथोलोजि टेस्ट गर्न बसुन्धारा स्थित केडीसी जनरल अस्पताल पठाइएको छ ।
‘यसरी फलोअपमा बोलाइएका महिलालाई अस्पतालमा ओपीडी र डाक्टरसँग परामर्श लिनको साथै महिलासम्बन्धी कुनै पनि चेकअपका लागि कुनै शुल्क लाग्दैन, औषधी खरिद गर्न र शल्यक्रिया गर्नु परेमा मात्र खर्च लाग्छ ।’ उनले बताइन् ।
उक्त शिविरमा सिनियर कन्सल्टेन्टद्वारा ११ जनाको सर्भाइकल क्यान्सर स्क्रीनिङ गरिएको छ भने १५ जना महिलालाई निःशुल्क परामर्श सेवा दिएको उनले बताएकी छन् । यसैगरी, १५ जनाको रगत परीक्षण गरिएको छ भने तीन जनामा उच्च रक्तचाप भएको भेटिएको छ ।
उक्त शिविरमा मूत्रनली संक्रमणका ५, महिनावारीसम्बन्धी समस्याका ७ तथा पेल्भिक इन्फ्लामेटरी डिजिजका १० जना बिरामी पहिचान भएका छन्।
बीएम फाउण्डेसनका संस्थापक तथा रोटरी इटरनेशनल डिस्ट्रक ३२९२ का एसिस्टेण्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले यस प्रकारको कार्यक्रमबाट महिलाको स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारमा सहयोग पुगेको बताएका छन् । ‘महिलाहरुको स्वास्थ्य अवस्था अत्यन्त संवेदनशील हुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण आवश्यक पर्छ । त्यसमाथि पछिल्लो समय महिलामा पाठेघरको समस्या अत्याधिक देखिएको छ । आर्थिक अवस्थाले गर्दा पनि कतिले समयमा स्वास्थ्य जाँच गर्दैनन् । त्यसले गर्दा पनि यस्तो शिविर आवश्यक हुन्छ।’ उनले बताए । यस्ता कार्यक्रमले महिलाको प्रजनन स्वास्थ्यप्रति चेतना बढाउन र गम्भीर रोगको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

रोटरी इटरनेशनल डिस्ट्रक ३२९२ का साथै विभिन्न सहयोगी क्लबहरुले यस्तो सामाजिक काममा निरन्तर योगदान पुर्याउँदै आएका छन् । आआफ्नो जिल्लाको सामाजिक कामको उद्देश्य पुरा नर्गे हेतुले पाठेघरको निःशुल्क जाँच शिविरमा रोटरी क्लब अफ न्यातपोल, रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ डाउन टाउन, रोटरी क्लब अफ ठमेल काठमाडाँै लगायतका रोटरी क्लबले सहयोग गरेका छन् । यसका साथै हिमालय ब्रोकेज कम्पनी लिमिटेडले पनि आवश्यक सहयोग गरेको छ ।
उक्त शिविरमा रोटरी क्लब अफ काठमाडौँ डाउनटाउन प्रोजेक्ट सर्भिस चिफ सरोजनी तुलाचनको उपस्थिति रहेको थियो । आयोजकले उपस्थित सबैमा कृतज्ञ हुँदै शिविर सम्पन्न गर्नको लागि डाक्टर पर्मिसा बराल, डाक्टर मनिशा गैरे, मन्दिरा तिमिल्सिना, पर्मिला थापा, पवित्रा चन्द, बलराम सापकोटा र छिरिङ लामाले महत्वपूर्ण योगदान दिएकोको सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

