डा. मंगल रावलको टिमबाट कोशी प्रदेश उपाध्यक्षमा उठ्दै डा. टंक बाराकोटी
'बाराकोटी प्रतिवेदन' कार्यान्वयन गर्न टिम मंगललाई जिताउन आग्रह

काठमाडौँ, २७ मंसिर । सरकारी सेवाबाट भर्खरै अवकाश लिएका पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले आगामी फागुनमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा उठ्ने भएका छन् । उनी डा. मंगल रावलको टिमबाट कोशी प्रदेशको उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
केही वेर अघि फेसबुकमा एनएमए कोशी प्रदेशको उपाध्यक्ष पदमा उठ्ने घोषणा गर्दै उनले चिकित्सकहरुका एजेण्डा कार्यान्वयन गर्नका लागि आफ्नो उम्मेद्धारी उल्लेख गरेका छन् ।
‘म हाल कोशी प्रदेशमा कार्यरत छु । आउँदो चिकित्सक संघको निर्वाचनमा कोशी प्रदेशको उपाध्यक्षमा उम्मेद्धार बन्ने घोषणा गरेको छु । र म डा मंगल रावलको टिमबाट उपाध्यक्षको उम्मेद्धार बन्ने जानकारी गराउन चाहन्छु ‘ डा. बाराकोटीले भनेका छन् ।
उनले आफू सरकारी सेवामा रहँदा चिकित्सक कल्याणका लागि चालेका कदम जो ‘बाराकोटी प्रतिवेदन’ का रुपमा समेत परिचित छ । त्यसको कार्यान्वयनका लागि पनि टिम मंगल निर्वाचित हुनु पर्ने भन्दै भोटका लागि अपिल गरेका छन् ।
यता अध्यक्षका उम्मेद्धार डा मंगल रावलले कोशीबाट डा बाराकोटीको घोषणाले आफूलाई उत्साहित बनाएको भन्दै चिकित्सकहरुको पेशागत हक हित र बृत्तिविकास लागि यसपटक आफ्नो टिम सपोर्ट गर्न चिकित्सकहरुमाझ आग्रह गरे ।
‘हाम्रो अभियान विगत देखि नै स्पष्ट छ । एजेण्डा सार्वजनिक भइनै रहेका छन् । यसलाई आदरणीय चिकित्सकले बुझ्नु हुन्छ । यसपटक हाम्रो टिमलाई भोट गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भनेका छन् ।
स्वास्थ्य सेवा विभागमा महानिर्देशक रहेका बेला डा बाराकोटीले गत १९ कात्तिकमा पदबाट राजिनामा दिएका थिए । पदावधी दुई वर्ष बाँकी छँदै सरकारी सेवा (विशिष्ट श्रेणी)बाट निस्केका उनी अहिले झापा फर्केर बिरामीको उपचारमा क्रियाशिल छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

