बयोधा अस्पतालमा बिरामी मृत्यु प्रकरण : जेनजी र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा भयो सहमति

काठमाडौँ, २५ मंसिर । बल्खुस्थित बयोधा अस्पतालमा तीन दिन अघि भएको बिरामी मृत्यु पछि उत्पन्न विवादमा सहमति भएको छ ।
गत २३ मंसिर विहान पौने चार बजे तिर खोटाङ केपीलासगढी गाउँपालिका ४ स्थायी घर भएका २६ वर्षीय प्रभिसन राईको निधन भएको थियो । घाँटीमा असहज भएपछि साथीलाई पछाडी राखी आफैले स्कुटी चलाएर बयोधा पुगेका राईको केही घण्टा पछि मृत्यु भएको थियो । त्यसपछि परिवार तथा आफन्तहरुले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै प्रर्दशन गर्दै आईरहेका थिए ।
विहीबार जेनजी र पुराना राजनीतिक दलका प्रतिनिधिको रोहबरमा अस्पताल र मृतक परिवारबीच सहमति भएको हो ।
सहमति अनुसार मृतकको परिवारका चार जना सदस्य (बुबा, आमा, दिदी, भाई) लाई बयोधा अस्पतालमा उपलव्ध स्वास्थ्य उपचार सेवा आजीवन निशुल्क उपलव्ध गराउने । यस्तै मृतकको शब काठमाडौँ देखि खोटाङ लैजानका लागि हेलिकप्टरको व्यवस्था मिलाउनुका साथै सहयोग उपलव्ध गराउने सहमति भएको छ ।
बिहीबारको बार्तामा अस्पताल प्रशासन र मृतकका परिवार सहित खोटाङका एमाले नेता विशाल भट्टराई, नेपाली कांग्रेसका नेता विष्णुकुमार राई र सुभाष पोखरेल तथा जेनजी प्रतिनिधिका रुपमा उपार्जुन चाम्लिङ समेत सहभागी भएको सहमति पत्रमा उल्लेख छ ।
दुई बुँदे सहमति गर्न मृतकका परिवारका तर्फबाट रामकुमार राई, दिदी अलिसा राई, दाजु चन्द्र राई र विज्ञान राई थिए भने अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक अजय गुप्ता र प्रमुख भण्डारण अधिकृत रामप्रसाद भट्टराई थिए ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

