पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

52
Shares

कास्की, २५ मंसिर । देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ ।

पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो ।

यस योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने र त्यसका लागि सम्भाव्यता अध्ययन गर्न कोइकाको टोली पोखरा आएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

उनका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोलीले पोखरामा रहेर अस्पताल निर्माण सम्बन्धमा आवश्यक परामर्श गरिरहेको छ ।

महानगर प्रमुख आचार्यले भने– ‘पोखरामा विशिष्टीकृत बर्न हस्पिटल बन्ने पक्का भएको छ । यो अस्पताल बनेपछि पोखरा र यस वरपरका बासिन्दालाई अत्याधुनिक विशेषज्ञसहितको स्वास्थ्योपचार सुविधा प्राप्त हुनेछ । कोइकाको उच्चस्तरीय टोलीले यसका लागि विस्तृत अध्ययन सुरु गरिसकेको छ ।’

२०८१ फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महानगर प्रमुख आचार्य जलेर घाइते भएका थिए । पोखरामा जलनको अस्पताल नभएपछि उनीहरूलाई काठमाडौंमा उपचार गरिएको थियो ।

सोही घटनापछि महानगर प्रमुख आचार्यले पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको खाँचो महसुस गरी अस्पताल बनाउने घोषणा गरेका थिए । महानगरको चालु वर्षको नीति तथा कार्यक्रममा समेत अस्पताल बनाउने विषय समेटिएको छ ।

महानगरका अनुसार साविक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमध्ये तीन रोपनीमा वडा नम्बर २७ को कार्यालय निर्माण भइसकेको छ । त्यसैगरी, पाँच रोपनीमा एसियाली विकास बैङ्कको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ ।

नगरपालिकाको बाँकी रहेको २८ रोपनी जमिनमा जलन अस्पतालसँगै प्रसूति तथा स्त्रीरोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवा समावेश गरी ‘स्पेशलाइज्ड हस्पिटल’का रूपमा विकास गर्ने योजना रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *